ऋचा शर्माले ‘कौसीद’ बनाउने
अभिनेत्री ऋचा शर्माले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन् । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर उनले नयाँ चलचित्रको निर्माण घोषणा गरेकी छन् । शुक्रवार फेसबुकमा चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा चलचित्र बनाउन लागेको जानकारी दिएकी हुन् । पोस्टर हेर्दा चलचित्रले बैंकबाट ऋण लिने मानिसको कथा वाचन गर्ने अनुमान गर्न सकिन्छ ।

कुमार भाष्करले निर्देशन गर्ने चलचित्रलाई केदार भुषालले निर्माण गर्नेछन् । ऋचा प्रस्तुतकर्ता रहेको चलचित्रमा डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह-निर्माताको रुपमा रहेका छन् । नवविजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाको कथा रहेको चलचित्रमा ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहनेछन् । भोलाराजले बलिउड चलचित्र ‘बर्फी’ मा समेत काम गरिसकेका छन् ।
‘आधा लभ, भिर्सा गर्ल र सुनकेसरी’ चलचित्रको निर्माण गरिसकेकी ऋचाले नयाँ जोश र उत्साहका साथ ‘कौसीद’ बनाउने बताएकी छन् । उनले चलचित्रको छायांकन सुरु हुने मिति भने घोषणा गरेकी छैनन् । निशल पौडेलले खिच्ने चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि चलचित्रमा अभिनय रहनेछ ।