माघे संक्रान्तिमा शिव र प्रियंकाको ‘एउटा यस्तो प्रेम कहानी’
अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको मल्टीस्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते (माघे संक्रान्ति) बाट प्रदर्शनमा आउने भएको छ । बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की फिचर छन् । भावुक मुद्रामा देखिएका उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् ।

विके फिल्मस् र एफडी कम्पनीले वितरणको जिम्मा लिएको लभस्टोरी-एक्सन ड्रामामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् ।
फिस्टेल मुभिजको ब्यानरमा निर्मित चलचित्रका निर्माता यशोधा राई र दिनेश दर्शनधारी हुन् । दिपेश सापकोटा निर्देशित चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो चलचित्र प्रदर्शनमा आउन लागेको हो । नाम चलेका कलाकारहरुको अभिनय रहेका कारण यो चलचित्र दर्शकमाझ प्रतिक्षीत छ ।