‘डिसेम्बर फल्स’ का लागि उपासना सिक्दैछिन् नृत्य
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पछि अध्ययनका कारण एक वर्ष कुनै चलचित्रमा काम नगरेकी अभिनेत्री उपासना सिंह ठकुरीले गत मंसिरमा चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरेकी छन् । यसमा उनको जोडी अभिनेता आर्यन सिग्देलसँग बाँधिएको छ । आर्यनबाट आफूले धेरै कुरा सिक्न पाउनेमा उनी विश्वस्त छिन् । नायक र नायिकाको उमेर अन्तरको कथा वाचन गर्ने चलचित्रलाई प्रवीण झाले निर्देशन गर्दैछन् ।

यो चलचित्रमा उपासनाको भूमिका बलियो रहेको बुझिएको छ । यसकारण पनि चलचित्रलाई लिएर उनी उत्साहित छिन् । चलचित्रमा आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाह गर्न अहिले उनी नृत्य सिकिरहेकी छन् । कोरियोग्राफर प्रविन सिंहको डान्स स्टुडियो ‘द डान्स हाउस’ मा उनले नृत्यको प्रशिक्षण लिइरहेकी छन् । उनले नृत्य सिकिरहेका भिडियो इन्स्टाग्राम स्टोरीमा राखेकी छन् ।
लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन र उपासनासँगै सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ । रवि नायडुले खिच्ने चलचित्रको कथा बिपिका खनालले लेखेकी हुन् भने पटकथा र संवाद केदार भुसालको हो । चलचित्रलाई २०७८ साउन १ गते देशव्यापी प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।