म्यूजिक भिडियो खेलेर स्टारडम कमजोर हुँदैन : प्रदीप खड्का



कोरोना भाइरसका कारण चलचित्र निर्माण ठप्प हुँदा म्यूजिक भिडियो निर्माणमा भने बाढी नै आयो । चलचित्रमा अभिनय गर्दै आएका एकाधबाहेक प्रायः कलाकारले लकडाउनमा आर्थिक लाभका लागि म्यूजिक भिडियोमा काम गरे । अहिलेका हटकेक अभिनेता प्रदीप खड्का पनि यसबाट अछुतो रहन सकेनन् । उनले लकडाउनमा दुईवटा म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

उनले अभिनय गरेका दुई गीत ‘सुनौलो विहानी फर्किनेछ र जय जय नेपाल’ यूट्युबमा हेर्न सकिन्छ । तर, यी दुवै गीतले यूट्युबमा उल्लेख्य भ्यूज पाएका छैनन् । यी दुई गीतपछि भने प्रदीपले नयाँ म्यूजिक भिडियोमा काम गरेका छैनन् । स्टारडममा असर गर्ने डरले उनले म्यूजिक भिडियो नगरेको टिप्पणी पनि भइरहेको छ । तर, म्यूजिक भिडियो खेलेर स्टारडम कमजोर नहुने उनी बताउँछन् ।

उनी भन्छन्, ‘एउटा कलाकारले अभिनय गरेर स्टारडम कमजोर हुन्छ भन्ने म मान्दिनँ । स्टारडम कुन बेला कमजोर हुन्छ भने उसले व्यक्तिगत जीवनमा गर्ने चिज र गलत काम गर्छ भने मात्र स्टारडम कमजोर हुन्छ होला । अन्यथा अभिनय गर्दैमा स्टारडम कमजोर हुन्छ जस्तो लाग्दैन ।’ आफूले म्यूजिक भिडियोमा काम गर्दै आएको भए पनि कमर्शियल रुपमा नगरेको उनी बताउँछन् ।

कमर्शियल म्यूजिक भिडियो नगर्नुको कारणबारे प्रदीप भन्छन्, ‘धेरै जनासँग राम्रो चिनजान छ । एक जनाको भिडियो गरेपछि कसलाई नाईं भन्ने, कसलाई हुन्छ भन्ने । कसैको चित्त नदुखाऊ भन्नका लागि कमर्शियल म्यूजिक भिडियो नगरेको हुँ ।’ आफूमा गीत छान्ने क्षमता नभएको पनि उनको भनाई छ । उनी माघबाट चलचित्र ‘प्रकाश’ को छायांकन थाल्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu