हलमा पुनः रिलिज हुँदै ‘आमा’ र ‘सेन्टी भाइरस’



सिनेमा हल बन्द भएको १० महिना भएको छ । लकडाउनभन्दा अगावै सरकारले सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । अहिले भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसक्दा पनि सरकारले सिनेमा हल खोल्न अनुमति दिएको छैन । तर, हल व्यवसायीहरुले यही पुष १० गतेबाट सिनेमा हल खोल्दैछन् । गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट हल खोल्ने घोषणा गरेको थियो ।

सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको हल व्यवसायीले बताएका छन् । अहिले हल सञ्चालकहरु १० महिनादेखि बन्द रहेको सिनेमा हलको सरसफाइमा जुटेका छन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोलिने बताइएको छ । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउँदैछन् ।

तत्काल सिनेमा घरमा दर्शकको चाप नहुने भएका कारण हलमा प्रदर्शन भइसकेका चलचित्र पुनः चलाइँदैछ । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रवारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन् । मल्टीप्लेक्समा भने यी दुई नेपाली चलचित्रसँगै हलिउड चलचित्र ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन हुँदैछन् ।

समीक्षात्मक र व्यवसायिक दुवै रुपमा सफल ठहरिएको ‘आमा’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका छ । त्यस्तै, रामबाबु गुरुङ निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दिप क्षेत्रीलगायतको अभिनय छ । यो चलचित्र पनि बक्सअफिसमा हिट सावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu