मनीषा कोइरालाको जीवनी अब नेपालीमा
अभिनेत्री मनीषा कोइरालाको आत्मकथा ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भएको छ । अंग्रेजी संस्करण निकै रुचाइएपछि यसको नेपाली अनुवाद प्रकाशन गरिएको हो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । ‘हिल्ड’ लाई भने मनीषा र नीलम कुमारले लेखेका थिए ।

क्यान्सरबाट निको हुन मनीषाले गरेको संघर्ष र जीवनप्रति उनको दृष्टिकोणलाई पुस्तकमा समावेश गरिएको छ । आइतबार पुस्तकको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले आफूले यो किताब लेख्छु भनेर सुरु नगरेको बताएकी छन् । क्यान्सर लागेपछि भोगेका कुरा किताबमा लेखेर समाजलाई दिन सके आफ्नो जीवन सार्थक हुने ठानेर पुस्तक लेखेको उनको भनाइ छ ।
क्यान्सर लाग्नुभन्दा पहिला आफू धेरै केयरलेस रहेको बताउँदै मनीषा भन्छिन्, ‘अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नु भन्नुभएको थियो । त्यसबेलादेखि मैले क्यान्सर भएपछि भोगेका दुःख र कष्टलाई टिपोट गर्दै आएको थिएँ । र त्यसलाई पछि पुस्तकमा ल्याएकी हुँ ।’