‘ए मेरो हजुर ४’ का लागि १० केजी तौल घटाउँदै अनमोल



अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को अझै छायांकन पूरा हुन सकेको छैन । कोरोना महामारीअघि चलचित्रको केही प्रतिशत छायांकन भएको थियो । तर, लकडाउनपछि चलचित्रको छायांकन रोकियो । दशैंदेखि सुरु भएको चलचित्रको छायांकन पुनः दुई महिनाका लागि रोकिएको छ । भीडभाडका दृश्य खिच्नु पर्ने भएकाले तत्काललाई चलचित्रको छायांकन रोकिएको हो ।

निर्माता सुनिल कुमार थापाले दुई महिनापछि चलचित्रको बाँकी छायांकन सुरु हुने बताएका छन् । उनका अनुसार, अब अस्पताल र विमानस्थलका केही दृश्य र दुई गीत खिच्न बाँकी छ । चलचित्रमा अनमोल तीनवटा गेटअपमा प्रस्तुत हुँदैछन्, जसमध्ये दुईवटा गेटअपको छायांकन पूरा भइसकेको छ । एउटा गेटअपको छायांकनका लागि भने उनले १० केजी तौल घटाउनु पर्ने भएको छ ।

चलचित्रमा अनमोल गम्भीर विरामी भएको देखिनुपर्ने दृश्य भएकाले उनले तौल घटाउनुपर्ने निर्माता थापाले बताए । यसकारण पनि दुई महिनाका लागि चलचित्रको छायांकन रोकिएको उनको भनाई छ । आफ्नो भूमिकालाई न्याय गर्न अहिले अनमोलले तौल घटाउन खान–पानमा विशेष ध्यान दिइरहेका छन् । यसअघि चलचित्र ‘क्याप्टेन’ मा पनि उनले १२ केजी तौल घटाएका थिए ।

प्रेमकथा वाचन गर्ने चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोलले दोस्रो पटक अभिनेत्री सुहाना थापासँग रोमान्स गरेका छन् । यो चलचित्रको अघिल्लो सिरिजमा उनीहरुले एकसाथ काम गरेका थिए । झरना थापाको निर्देशनमा तयार भइरहेको चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । निर्माण सम्पन्न भएको ६ महिनामा चलचित्रलाई प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu