पल शाहसँग चलचित्रमा काम गर्ने रहर जागेको छ : मलिका महत



डेढ वर्ष प्रदर्शनमा आएको चलचित्र ‘यात्रा’ बाट मलिका महतले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । यो चलचित्रमा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । समीक्षक, दर्शक तथा चलचित्रकर्मीले सम्भावना बोकेको अभिनेत्रीको रुपमा तारिफ गर्दा उनी दंग थिइन् । तर, चलचित्र बक्सअफिसमा असफल सावित हुँदा उनको करिअरले गति लिन सकेको छैन ।

‘यात्रा’ पछि उनले दोस्रो चलचित्रको रुपमा अभिनेता खगेन्द्र लामिछानेको अभिनय र निर्देशनमा बनेको चलचित्र ‘पानीफोटो’ मा काम गरेकी छन् । यसमा नाम चलेका कलाकारहरुको ठूलो भीड रहेका कारण मलिका सहायक भूमिकामा हुनसक्ने धेरैको अनुमान छ । उनी अहिले यही चलचित्रको रिलिजको प्रतिक्षामा छिन् । स्थिति सामान्य भएपछि चलचित्र प्रदर्शनमा आउने तयारीमा छ ।

गायक स्वप्न सुमनको स्वरमा रहेको ‘म तिम्रो’ बोलको गीतमा अभिनय गरेपछि चर्चामा आएकी मलिकालाई ‘सानुमाया’ बोलको गीतले लोकप्रियताको उचाईमा पुर्‍याएको थियो । चलचित्र ‘यात्रा’ मा काम गरेपछि म्यूजिक भिडियोबाट दूरी बनाएकी उनले अभिनेता पल शाहसँग नयाँ म्यूजिक भिडियोमा स्क्रिन शेयर गरेकी छन् । ‘फुलबुटे सारी’ बोलको गीत शनिवार सार्वजनिक भएको छ ।

पल शाहसँग म्यूजिक भिडियोमा काम गर्दा निकै रमाइलो भएको मलिका बताउँछिन् । उनलाई पलसँग चलचित्रमा पनि काम गर्ने रहर रहेछ । उनी भन्छिन्, ‘मलाई उहाँको काम पहिलादेखि नै राम्रो लाग्थ्यो । पहिलो पटक सँगै काम गर्दा उहाँ कति प्रोफेसनल हुनुहुन्छ भनेर देख्न पाएँ । उहाँसँग काम गर्न एकदमै सजिलो भयो । यो देखेर उहाँसँग चलचित्रमा काम गर्ने रहर चाहिँ जागेको छ ।’

पल पनि ‘यात्रा’ मा मलिकाले गरेको अभिनयबाट प्रभावित भएका रहेछन् । चलचित्र हेरेदेखि मलिकासँग काम गर्ने इच्छा रहेको सुनाउँदै उनले ‘फुलबुटे सारी’ गीत सार्वजनिक कार्यक्रममा भने( ‘चलचित्रमा मलाई मलिकाको अभिनय राम्रो लागेको थियो । त्यसबेलादेखि सँगै काम गर्ने इच्छा थियो । बल्ल त्यो संयोग जुर्‍यो, खुसी छु ।’ मलिकासँग चलचित्रमा पनि काम गर्ने इच्छा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu