यूट्युबमा ‘साइँली’ लाई दर्शकले भने- ‘अर्गानिक चलचित्र’



दशैंदेखि नेपालको यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा नेपाली चलचित्र छाएका छन् । दुई हप्ता यूट्युब ट्रेन्डिङको पहिलो नम्बर अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ ले कब्जा गर्यो । दुई दिनदेखि विपिन कार्की अभिनीत चलचित्र ‘प्रसाद’ शीर्ष स्थानमा छ । त्यस्तै, एक हप्ता अगाडि सार्वजनिक भएको चलचित्र ‘साइँली’ पनि अहिले यूट्युब ट्रेन्डिङको चौथौ स्थानमा छ ।

हेमन्त रानाको ‘सुन साइँली’ गीतको नाम सापटी लिएर निर्माण भएको चलचित्रले बक्सअफिसमा औसत व्यापार गरेको थियो । माटो सुहाउँदो चलचित्र बनाउन सिपालु मानिने रामबाबु गुरुङ निर्देशित चलचित्रलाई समीक्षक र दर्शकले मिश्रित प्रतिक्रिया दिएका थिए । यूट्युबमा भने दर्शकले चलचित्र निकै रुचाएका छन् । प्रायः दर्शकले अर्गानिक चलचित्र भन्दै प्रशंसा गरेका छन् ।

एक हप्तामा ४० लाखको आसपास भ्यूज मिलेको चलचित्रलाई ७ हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्समा चलचित्रको कथावस्तु र कलाकारको अभिनयको प्रशंसामा शब्द कोरिएका छन् । केही दर्शकले ‘साइँली २’ को समेत माग गरेका छन् । रोजगारीका लागि विदेशिन बाध्य महिलाहरुको कथा चलचित्रले वाचन गरेको छ । चलचित्रको केन्द्रिय भूमिकामा मेनुका प्रधान छिन् ।

हेमन्त राना र गौरव पहारीले निर्माण गरेको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंह, दयाहाङ राई, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको चलचित्रको कथा निर्देशक गुरुङको हो । चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu