एलिजा भन्छिन्, ‘मैले ‘अनुराग’ बनाउन हतार गरेकै हुँ’
एलिजा गौतमलाई अभिनेत्री बन्ने बाल्यकालदेखिको सपना थियो । दुई सन्तानकी आमा भएपछि उनले चलचित्र ‘अनुराग’ अभिनेत्री बन्ने सपना पूरा गरिन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । चलचित्रले हलमा पानी भन्न पाएन । न त एलिजाको अभिनयकै वाहवाही भयो । चलचित्रमा उनका श्रीमान ऋषि धमलाको लगानी थियो । पहिलो चलचित्रले असफलता भोगेपछि एलिजा निराश भएकी थिइन् ।
‘अनुराग’ ले लगानी नउठाएपछि एलिजाले नयाँ चलचित्र निर्माण बनाउने आँट गरेकी छैनन् । न त उनको हातमा बाहिरी ब्यानरको फिल्म नै परेको छ । बरु, लकडाउनयता उनलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । उनले पहिलो पटक अभिनय गरेको ‘आधी कपाल’ बोलको गीत हिट भएपछि उनको म्यूजिक भिडियोमा माग बढेको हो । यसैले उनी लकडाउन आफूलाई फापेको बताउँछिन् ।

चलचित्रबाट अफर नभएपछि उनले म्यूजिक भिडियो गर्न थालेको टिप्पणी पनि हुने गरेको छ । तर, यसलाई उनी नकारात्मक रुपमा लिन्नन् । ‘अनुराग’ पछि आफूले कुनै चलचित्र साइन नगरेको एलिजा धक नमानी बताउँछन् । राम्रो स्क्रिप्ट र टिमबाट प्रस्ताव आए आफू बाहिरी ब्यानरको चलचित्र गर्न तयार रहेको उनको भनाई छ । उनी आफैं भने तत्काल चलचित्र बनाउने सोचमा छैनन् ।
‘मैले ‘अनुराग’ बनाउन हतार गरेकै हुँ । हतारमा बनाएँ । त्यो म स्वीकार गर्छु । मैले चलचित्र निर्माणको बारेमा धेरै बुझेको थिइनँ । यो अवधिमा धेरै कुरा बुझेँ । चलचित्र बनाउन कस्तो टिम चाहिँदो रहेछ, के कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने बुझ्न र सिक्न पाएँ’, उनले अगाडि भनिन्, ‘एक/दुईवटा बाहिरी ब्यानरको चलचित्र गरेपछि मात्र आफ्नै लगानीमा चलचित्र बनाउने सोचमा छु । तत्काल चाहिँ चलचित्र बनाउँदिनँ ।’