चलचित्र निर्माण गर्दै आँचल शर्मा



एकपछि अर्का कलाकारले चलचित्र निर्माण गरिरहेको अवस्थामा अभिनेत्री आँचल शर्मा पनि अब चलचित्र निर्माणको तयारीमा जुटेकी छन् । कोरोना भाइरसको महामारी अन्त्य भएपछि उनले श्रीमान उदिप श्रेष्ठलाई निर्र्माता बनाएर चलचित्र बनाउँदैछिन् । चलचित्रको नाम भने तय भएको छैन । उनले चलचित्र निर्देशनको प्रस्ताव ‘लिलिबिली’ फेम्ड निर्देशक मिलन चाम्सलाई गरेकी छन् ।

आँचलले बनाउन लागेको चलचित्रबाट निर्देशनको प्रस्ताव आएको कुरा मिलनले नकारेनन् । उनले भने- ‘आँचलसँग भेट हुँँदा चलचित्रकै विषयमा कुरा हुन्छ । उनले ढिलो-चाँडो चलचित्र बनाउँछिन् नै । एक चरण मसँग चलचित्रको बारेमा कुराकानी भएको हो । तर, अहिले मेरो पाइपलाइनमा तीनवटा चलचित्र छ । आँचल पनि उस्तै व्यस्त छिन् । त्यसैले अहिलेलाई कुरा अगाडि बढेको छैन ।’

आफ्नो पाइपलाइनमा रहेका तीन चलचित्रभन्दा अगाडि मिलन अन्य चलचित्रमा हात हाल्ने सोचमा छैनन् । त्यसैले आँचलले निर्माण गर्ने चलचित्र केही समय पछाडि हुने उनले बताए । चलचित्रमा अभिनेताको रुपमा प्रदीप खड्कालाई अफर गरिएको भन्ने चर्चा पनि चलेको छ । तर, यसमा सत्यता नभएको चाम्स बताउँछन् । हिरोको विषयमा कुनै कुरा नभएको उनले बताए ।

केही म्यूजिक भिडियोमा सँगै काम गरेपछि मिलन र आँचलबीच सुमधुर सम्बन्ध कायम भएको छ । केही दिन अगाडि आँचल दाम्पतीले मिलनको घरमा डिनर समेत गरेका थिए । ‘गोर्खा वारियर’ र साम्राज्ञी आरएल शाहसँगको चलचित्रपछि मिलनले बनाउने नयाँ चलचित्रमा आँचल लिड अभिनेत्रीको रुपमा हुने फाइनल भइसकेको छ । तर, उक्त चलचित्रको नाम भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu