उच्च आत्मबलले कोरोना जितिन्छ : ऋचा शर्मा



एकपछि अर्का नेपाली कलाकारहरु कोरोनाको चपेटामा परिरहेको अवस्थामा तीन हप्ता अगाडि अभिनेत्री ऋचा शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । असह्य टाउको दुखेपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना देखिएको थियो । यसपछि उनी झण्डै २२ दिन होम आइसोलेसनमा बसिन् । तीन हप्ता लामो होम आइसोलेसनपछि कोरोनालाई जितेकी उनी अहिले स्वस्थ छिन् ।

गएको हप्ता आफू कोरोनामुक्त भएको जानकारी दिएकी ऋचाले आफ्नो कोरोना अनुभव साटेकी छन् । आफ्नो नाममा खोलको यूट्युब च्यानलमा एक भिडियो अपलोड गर्दै उनले आइसोलेसनको क्रममा कोरोनालाई जित्न आफूले गरेका क्रियाकलाप प्रशंसकमाझ शेयर गरेकी छन् । स्वास्थ्य सुरक्षाका सामाग्री अपनाउँदा अपनाउँदै आफूलाई कोरोना सरेको उनले बताएकी छन् ।

‘लकडाउन भएदेखि काम विशेषले घरबाहिर जाँदा सधैं मास्क प्रयोग गरेको थिएँ । सधैं सेलिटाइनर लगाउथेँ । हात पनि पटक पटक धोइरहेको हुन्थेँ । यति सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना लाग्यो । मलाई कसरी कोरोना लाग्यो भनेर मैले सोच्न पनि सकेको छैन । मास्क, सेनिटाइजर लगाउँदा लगाउँदै पनि कोरोना लाग्दा चाहिँ अचम्म लागेको छ’, उनले भनेकी छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि आफूलाई मानसिक रुपमा तनाब भएको उनी बताउँँछिन् । कोरोनाको औषधी नबनेकाले कसरी यो संक्रमणबाट मुक्त हुने भनेर आफू चिन्तित भएको उनको कथन छ । उनी भन्छिन्, ‘कोरोना जित्न शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन जरुरी छ । कतिपयले कोरोना लागेपछि अब सकियो भनेर सोच्ने गर्दछन् । यसरी आत्मविश्वास कम गर्नु हुँँदैन ।’

आइसोलेसनमा बसेपछि उनले हरेक दिन दुईपटक बाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने, नुन पानी प्रयोग गर्ने गरेकी रहेछिन् । कोरोना पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार आफूले कोडोपार र जिंक औषधी सेवन गरेको उनले बताइन् । आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउन नहुने र उच्च आत्मबलले कोरोना जितिने उनको अनुभव छ ।

अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउनु हुँदैन । मैले चाहिँ आइसोलेसनको समयमा कमेडी चलचित्र धेरै हेरेँ । कति झुर चलचित्र पनि हेरेँ । तर, त्यसले मलाई दिमागलाई यताउति जान दिएन । अहिले म एकदमै स्वस्थ छु ।’ कोरोनाको लक्षणको रुपमा भने उनलाई असह्य टाउको दुखेको थियो । त्यस्तै, उनले गन्ध पनि महशुस गर्न सकेकी थिइनन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu