संगीताको ‘आइसक्रिम’ लाई दुई अवार्ड
संगीता श्रेष्ठले निर्देशन गरेको लघु चलचित्र ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड जितेको छ । शनिबार घोषणा भएको अवार्ड समारोहमा चलचित्रले उत्कृष्ट बाल कलाकार र सम्पादन गरी दुई विधामा अवार्ड जितेको निर्देशक श्रेष्ठले जानकारी दिइन् । नोभेम्बर ३ देखि ८ सम्म आयोजना भएको फेस्टिभलको पहिलो दिन नै यो चलचित्र स्क्रिनिङ भएको थियो ।
‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा बेस्ट फिल्म, बेस्ट डाइरेक्सन र बेस्ट स्क्रिनप्ले विधामा पनि ‘आइसक्रिम’ मनोनयनमा परेको थियो । निर्देशक श्रेष्ठले चलचित्रले दुई अवार्ड जितेकोमा खुसी व्यक्त गरेकी छन् । बाल यौन शोषणमाथि आधारित चलचित्रले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोल्छ । संगीताका अनुसार, चलचित्र २ लाखको बजेटमा निर्माण भएको हो ।

चलचित्रमा छोरीहरु यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको र यस किसिमको अपराधबाट बचाउने उद्देश्यले चलचित्र बनाएको संगीता बताउँछिन् । यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल’ मा पनि छनोट भइसकेको छ ।
नौ मिनेट लामो चलचित्रमा योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । संगीताले ‘कथा काठमाण्डू’ बाट उनले फिचर चलचित्र निर्देशनमा समेत हात हालेकी थिइन् । यसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । यद्यपि, चलचित्र भने बक्सअफिसमा चलेन । उनी सञ्चारकर्मी समेत हुन् । उनले चलचित्रसँगै सयौँ म्यूजिक भिडियो, वृत्तचित्र तथा लघु चलचित्रहरु निर्देशन गरेकी छन् ।