‘लक्ष्मी पूजा’ बाट शोभित नाफामा



चलचित्र प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ, दशैं । तर, कोरोना भाइरसको महामारीका कारण यसपालीको दशैंमा हलमा चलचित्र रिलिज भएनन् । यस वर्ष कोरोनाले गर्दा दशैंमा चलचित्र रिलिज गर्ने धेरै निर्माताको सपना अधुरै रहँदा निर्माता तथा निर्देशक शोभित बस्नेतले भने चलचित्र ‘लक्ष्मी पूजा’ हलमा रिलिज नगरेरै पनि राम्रो नाफा कमाएका छन् ।

लकडाउनमा छायांकन गरिएको यो चलचित्र फूलपातीमा डिसहोममा प्रदर्शनमा आएको थियो । अहिले डिसहोमलगायत विभिन्न डिजिटल प्लेटफर्ममा चलचित्र प्रदर्शन भइरहेको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्मित चलचित्र ‘लक्ष्मी पूजा’ सानो बजेटमा बनेको हो । शोभितका अनुसार, बुढासुब्बाले चलचित्रका लागि ३० लाख एमजी दिएको थियो । यसमा निर्देशक, कलाकार, प्राविधिक, पोस्ट प्रोडक्सनलगायतको खर्च जोडिएको छ ।

बुढासुब्बाले डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गरेर ३० लाख उठाएपछि मुनाफाको आधा हिस्सा शोभितले पनि पाउनेछन् । कलाकार समेत रहेका शोभितले भने- ‘अहिले डिसहोस, नेट टिभी, मेरो टिभी, सेट म्याक्समा सःशुल्क चलचित्र प्रदर्शन भइरहेको छ । यसको राइट्स बुढासुब्बासँग छ । सिनेमा हल खुलेपछि ‘लक्ष्मी पूजा’ हलमा पनि रिलिज हुन्छ । यसको अधिकार चाहिँ मेरो कम्पनीसँग छ ।’

कोरोनाका कारण काम नभएको अवस्थामा यो चलचित्रबाट आफूलाई राम्रो नाफा भएको उनी बताउँछन् । समिर मियाँ निर्देशित चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहलगायतको अभिनय छ । चलचित्रको एक गीतमा सलोन बस्नेत र रियाशा दाहाल फिचर छन् । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu