किन सुरु हुन सकेन ‘परदेशी २’ को छायांकन ?



कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि रोकिएको चलचित्र ‘परदेशी २’ को छायांकन सात महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन । चलचित्रको ५० प्रतिशतभन्दा बढी सिन अझै खिच्न बाँकी छ । निर्देशक नारायण रायमाझीले दशैंअघि चलचित्रको छायांकन थाल्ने तयारी गरेका थिए । कलाकारहरुले केही दिन वर्कसप पनि गरे । तर, अहिलेसम्म यो चलचित्रको छायांकन सुरु हुन सकेको छैन ।

निर्देशक रायमाझीले अहिले आफू पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले भने- ‘सुटिङका लागि अनुकूल समयको प्रतिक्षामा छौं । सबै कुरा सहज भयो भने सुटिङ थाल्ने तयारी भइरहेको छ । दशैंअघि छायांकनमा जान सकिन्छ कि भनेर वर्कसप र लोकेशन हेरेका थियौं । तर, सुटिङमा निस्कनका लागि अनुकूल मिलेको छैन । अवस्था सहज भएपछि सुटिङ थाल्नेछौं ।’

चलचित्रको महत्त्वपूर्ण सिन अमेरिकामा खिच्नु पर्नेछ । तर, कोरोनाका कारण अमेरिकाको सिन नेपालमै खिच्ने वा अमेरिका नै जाने भन्नेमा निर्माण टिम दोधारमा देखिएको छ । ‘विदेशको सिन नेपालमा खिच्न मिल्ने खिचिसकेका छौं । विदेशमा खिच्नै पर्ने सिनका लागि समय हेर्दैछौं,’ निर्देशक रायमाझीले भने । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष चलचित्रमा देखाइनेछ ।

‘परदेशी २’ बाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । चलचित्रमा उनीसँगै केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । यो चलचित्रलाई यसै वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोनाका कारण चलचित्रको छायांकन समेत पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu