पल र दुर्गेशको मित्रता
अभिनेता पल शाह र गायक तथा मोडल दुर्गेश थापा अहिले एकअर्कासँँग निकै नजिक भएका छन् । दुर्गेशको ‘आलु जस्तो गायक’ बोलको गीतमा अभिनय गरेपछि उनीहरुबीच घनिष्ट मित्रता कायम भएको हो । गएको महिना बागलुङका बाढी पहिरो पीडितलाई राहत सामाग्री वितरण गर्न पनि उनीहरु एकसाथ पुगेका थिए । त्यसबेला दुर्गेशले पललाई आफ्नो जन्मथलो समेत घुमाएका थिए ।

‘आलु जस्तो गायक’ गीतको लोकप्रियतापछि पल र दुर्गेश फेरि एकपटक म्यूजिक भिडियोमा देखिँदैछन् । यही असोज २३ गते यूट्युबमा सार्वजनिक हुने ‘किन यस्तो भो’ गीतमा उनीहरुले सँगै काम गरेका छन् । यसमा एलिजा गौतम, ऋषि धमला, हरी खड्का लगायतको पनि अभिनय छ । पल र दुर्गेशले दोस्रो पटक सहकार्य गरेका कारण दर्शकहरु यो गीतको प्रतिक्षामा बसेका छन् ।
उनीहरुको मित्रताले यतिबेला व्यवसायिक पाटोमा पनि सघाउ पुर्याउँदै गएको छ । अहिले यी दुईलाई लिएर म्यूजिक भिडियो बनाउन चाहनेको संख्या ठूलो छ । यसले उनीहरुलाई ‘दुवै हातमा लड्डू’ झैँ भएको छ । तर, रंगीन दुनियाँमा लामो समय मित्रता टिकेका थोरै उदाहरण छन् । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका पल र दुर्गेशको मित्रता सधैंका लागि दिगो होस्, शुभकामना ।