‘दर्पण छायाँ पछि’ नाममा बन्दैछ ‘दर्पण छायाँ’ को सिक्वेल
२००१ मा निर्माण भएको चलचित्र ‘दर्पण छायाँ’ नेपाली चलचित्र इतिहासको सर्वाधिक सफल चलचित्रमध्ये एक हो । तुलसी घिमिरेले निर्देशन गरेको चलचित्रमा निरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानको प्रमुख भूमिका थियो । यो चलचित्रको नेम सिक्वेल समेत निर्माण भइसकेको छ । तुलसी घिमिरेले नै निर्देशन गरेको चलचित्रमा पुष्प खड्का र सहारा कार्कीको मुख्य भूमिका थियो ।

अब निरुता, दीलिप र उत्तमले मिलेर ‘दर्पण छायाँ’ को वास्तविक सिक्वेल बनाउँदैछन् । चलचित्र जहाँ अन्त्य भएको थियो त्यहीबाट कथा अगाडि बढाउने गरी उत्तम प्रधानले स्क्रिप्ट तयार पारिसकेका छन् । कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला चलचित्रको छायांकन सुरु भइसकेको हुन्थ्यो । अब स्थिति सामान्य भएपछि चलचित्रको निर्माण हुने निरुताले जानकारी दिएकी छन् ।
उनले चलचित्रको स्क्रिप्ट तयार भइसकेको र एकदमै राम्रो रहेको बताएकी छन् । उनी भन्छिन्, ‘तुलसी सरले पनि स्क्रिप्ट पढिसक्नुभएको छ । स्क्रिप्ट एकदमै राम्रो छ । हामी चलचित्र गर्न निकै उत्साहित छौं । चलचित्रमा म, उत्तम र दीलिप नै हुनेछौं । उत्तमजीले कथा अनुसार चलचित्रको नाम ‘दर्पण छायाँ पछि’ राख्नुभएको छ ।’ चलचित्रलाई तुलसी घिमिरेले नै निर्देशन गर्नेछन् ।