‘जहाजै चढेर’ मेरो करिअरको दोस्रो टर्निङ प्वाइन्ट : अमृत क्षेत्री



नेपाली सांगीतिक दुनियाँका एक नक्षत्र हुन्, अमृत क्षेत्री । २०५७ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका उनले तीन दर्जनभन्दा बढी गीतमा आवाज भरिसकेका छन् । उनको गायन कलालाई दर्शक/स्रोताले निकै रुचाएका पनि छन् । उनले आफ्नो आवाज भरेका ‘मग मग’, ‘मेरो निम्ति हाँसि दिने’, ‘चल्छ नेपालमा’, ‘मैले हेर्ने यौटा तारा’ लगायतका गीत चर्चाको शिखरमा छन् ।

उनको आवाजमा रहेको एक गीत अहिले दर्शक/स्रोताको जिब्रोमा झुण्डिरहेको छ । ‘जहाजै चढेर’ बोलको गीतमा उनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । गीतमा शब्द सिर्जना र संगीत गायक स्वयंको छ । निकेश खड्काले निर्देशन गरेको भिडियो फिल्मी शैलीमा बनाइएको छ । अर्थात्, भिडियोले मर्मस्पर्शी कथा बोल्छ । कोरोनाले परदेशमा अड्किएको एक युवकले स्वदेशमा रहेकी प्रेमिकालाई भेट्न नपाएको पीडा गीतमा भनिएको छ ।

गीतको भिडियोमा धन कमाउन परदेश गएको युवकको भूमिका अभिनेता दयाहाङ राईले निभाएका छन् । भने, उनको प्रेमिकाको भूमिकामा अभिनेत्री केनिपा सिंह पहारी छिन् । यी दुईले यसअघि चलचित्र ‘साइँली’ मा अभिनय गरेका थिए । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकास धमलाले गरेका हुन् । गीतको अडियो र भिडियोलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

गायक अमृत क्षेत्री गीतको भावअनुसार भिडियो बनेकोमा खुसी छन् । लकडाउनको समयमा गीत फुरेको बताउने उनले ठूलो पर्दासँगको कुराकानीमा भनेका छन्, ‘यो गीत लेख्नका लागि मैले दशवटा पाना च्यातेको छु । म एक/दुई दिन हिट वा भाइरल हुने सोचबाट निर्देशित भएर गीत सिर्जना गर्दिनँ । मैले गाएका वा लेखेका गीत सधैं दर्शक/स्रोताले सम्झिउन भन्ने लाग्छ । ‘जहाजै चढेर’ पनि वर्षौंसम्म पुरानो नहुने गीत हो ।’

गीतको भिडियो थिएटर शैलीमा तयार पारिएको छ । पछिल्लो समय महँगो सेट लगाएर वा आकर्षक लोकेशनमा गीत खिच्ने गरिन्छ । तर, यो गीतको सम्पूर्ण छायांकन थिएटरमा भएको हो । थिएटर शैलीमा भिडियो निर्माण गर्नु कति चुनौतीपूर्ण थियो ? भन्ने प्रश्नमा गायक क्षेत्री भन्छन्, ‘चुनौती त थियो नै । यसअघि थिएटर बेसमा भिडियो बनेका थिएनन् । हाम्रो प्रयास दर्शकले रुचाउने हुन् वा होइनन् भन्ने चिन्ता अवश्य थियो । तर, दर्शकले गीतको अडियोसँगै भिडियो पनि रुचाउनुभएको छ । त्यसले झन् हौसला मिलेको छ ।’

उनका अनुसार, भिडियोको कन्सेप्ट निर्देशक खड्का र अभिनेता दयाहाङ राईको हो । एक महिना लगाएर भिडियोको कन्सेप्ट तयार पारिएको गायक क्षेत्रीको भनाई छ । भिडियोमा प्रयोग गरिएका प्रप्स सेटिङ गीतको भावअनुसार छ । भिडियोको कन्सेप्ट र दयाहाङ-केनिपाको अभिनयले गीतलाई अझ जीवन्त बनाएको गायक क्षेत्री बताउँछन् । लकडाउन खुकुलो भएपछि यो गीतको मण्डला थिएटरमा छायांकन गरिएको थियो ।

२०६१ सालमा पहिलो एल्बम ‘अराइभल’ लिएर आएका गायक अमृत क्षेत्री ‘जहाजै चढेर’ लाई आफ्नो करिअरको दोस्रो टर्निङ प्वाइन्ट मान्छन् । ‘मैले लामो समयपछि गीत लिएर आएको हुँ । यो गीतले मलाई चिन्ने दर्शकको घेरा बढाएको छ । मेरो गायनमा अझ निखारता आएको प्रतिक्रिया पनि दर्शकहरुले दिनुभएको छ । यसकारण म यो गीतलाई मेरो सांगीतिक करिअरको दोस्रो टर्निङ प्वाइन्टको रुपमा लिन्छु,’ उनले ठूलोपर्दासँग भने ।

गायनसँगै संगीतकार र गीतकारको विधामा पनि हात हालेका गायक क्षेत्री सुरशाला म्युजिक एकेडेमीका सञ्चालक पनि हुन् । यो एकेडेमीले थुप्रै बाल-बालिकालाई गायनमा अवसर दिएको छ । प्रेम परियार, आयुष केसी र प्रितम आचार्य यही एकेडेमीका उत्पादन हुन् । ‘सारेगमप लिटल च्याम्प्स’ मा तेस्रो र चौथो स्थान हासिल गरेका प्रितम र आयुषलाई त्यो मञ्चसम्म पुर्‍याउन गायक क्षेत्री आफैंले सहयोग गरेका थिए । सुरशालाले भोलीका दिनमा पनि प्रतिभावान बाल-बालिकालाई अवसर दिने उनी बताउँछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu