‘ऐश्वर्य’का भिलेनले गरे नयाँ फिल्म साइन
नायक रमेश उप्रेती स्टारर फिल्म ‘ऐश्वर्य’ हेर्नुभयो ? दोहोर्याएर होइन एकपटक मात्र पनि फिल्म हेर्नुभएको छ भने तपाईले एउटा नाम सायद भुल्नु भएको छैन, राघव शम्सेर जबरा । फिल्ममा आफ्नो स्वार्थका लागि नायिका दीपिका प्रसाईँलाई प्रयोग गरेका ‘राघव’ अहिले निकै चर्चामा छन् ।
उनको वास्तविक नाम हो प्रशान्त ताम्राकार । ‘ऐश्वर्य’ रिलिज अगाडि नै ‘ह्यान्डसम भिलेन’को रुपमा कहलिएका प्रशान्तले दुईदिन अगाडि मात्र नयाँ फिल्म साइन गरेका छन् । मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको फिल्मको नाम खुलाइएको छैन । प्रशान्तले नयाँ फिल्मका लागि महंगो पारिश्रमिक लिएको चर्चा सिनेवृतमा छ ।
दर्शक नै आफ्ना लागि भगवान भएको बताउने प्रशान्त पारिश्रमिक हेरेर आफूले फिल्म साइन गर्ने नगरेको बताउँछन् । यस्तै, उनी अब २ वर्षका लागि प्याक भएका छन् । प्रशान्त भन्छन्, ‘अहिले म ५-६ वटा फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको छु । सबै फिल्मको कथा नै मनपरेको छ । म चाँडै केही फिल्महरु साइन गर्दैछु ।’
स्रोतका अनुसार प्रशान्त ‘ऐश्वर्य’ फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्न लागेको अनमोल केसीको नयाँ फिल्ममा पनि काम गर्दैछन् । तर, यसको आधिकारीक जानकारी भने प्राप्त भएको छैन ।