बलिउड चलचित्र लेखक अन्जुम राजाबली काठमाण्डौ आउने, दुई दिने कार्यशाला हुँदै
काठमाण्डौ। बलिउड चलचित्रका चर्चित लेखक अन्जुम राजाबली काठमाण्डौ आउने भएका छन् । दुई दिने पटकथा लेखन सम्बन्धि प्रशिक्षणका लागि उनि काठमाडौं आउने भएका छन् ।
राजाबली कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राजाबलीले प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा दुई दिन पटकथा लेखनका विविध आयाम बारे जानकारी गराउनेछन् ।
एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले राजाबलीले डिसेम्बरको १४ र १५ गते पटकथा सम्बन्धि प्रशिक्षण दिने बताएका छन् । ‘विगत एक वर्षदेखि हामी राजाबलीको समयको पर्खाइमा थियौं । अन्ततः उहाँले दुई दिनका लागि प्रशिक्षण दिने समय मिलाउनु भएको छ । यसले पटकथा लेखनमा रुचि राख्ने धेरैलाई फाइदा हुने विश्वास लिएका छौं,’ पुरीले भने ।
२० वर्षदेखि बलिउड चलचित्रमा पटकथा लेखकको रुपमा सक्रिय राजाबलीले गोविन्द निहलानी निर्देशित चलचित्र ‘द्रोहकाल’बाट सहायक लेखकको रुपमा लेखन थालेका थिए । उनले प्रकाश झा निर्देशित’राजनीति’, ‘सत्याग्रह’, ‘आरक्षण’, ‘चक्रब्युह’सँगै ‘पुकार’, ‘कच्चे धागे’ जस्ता चलचित्रमा पटकथा लेखन गरेका छन् ।
राजाबली सुभाष घईको चलचित्र स्कुल ‘ह्विसलिङ वुड्स’सँगै पुना फिल्म कलेजमा पनि पटकथा लेखन पढाउँछन् । दुई दिन प्रशिक्षणका समयमा उनले कथा चयनदेखि कथाको विकासक्रमका विभिन्न चरणको बारेमा जानकारी बाँड्नेछन् ।