दक्षिण कोरियामा नेपाली चलचित्र अवार्ड हुँदै



काठमाण्डौ। दक्षिण कोरियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड आयोजना हुने भएको छ । सोमबार काठमाण्डौमा आयोजना गर्दै पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ घोषणा गरिएको छ ।

सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा अवार्ड आयोजना हुनेछ । अवार्डलाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया (एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । कार्यक्रम व्यवस्थापनको सम्पूर्ण कार्य नेपालको संज्ञीक्षा फिल्मस्ले गर्नेछ । कुल २० विधामा अवार्ड प्रदान गरिनेछ ।

सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरिएको छ । पूर्व सांसद मोहन राइले अवार्डको लोगो अनावरण गरेका थिए । यस्तै, निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा अवार्ड घोषणाको उद्घाटन गरेका थिए ।

अवार्ड समारोहमा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पुर्‍याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ । कार्यक्रममा बोल्दै आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले विदेशी बजारमा नेपाली चलचित्रको बजार विस्तारका लागि दक्षिण कोरियामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । उनले, यो अवार्डले नेपाली चलचित्रकर्मीसँग दक्षिण कोरियाका दर्शकले प्रत्यक्ष साक्षात्कार गर्न पाउने समेत बताए । यस्तै, संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले आफूहरुलाई दिइएको जिम्मेवारी आफ्नो टिमले कुशलतापूर्वक निर्वाहा गर्ने बताए ।

कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता संघका बरिष्ठ उपाध्यक्ष केशव भट्टराई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा लगायतले शुभकामना दिएका थिए । यो अवार्डमा प्रदान गर्न लागिएका विधाहरुमा चलचित्र, निर्देशक, नायक, नायिका, सह-अभिनेता, सह-अभिनेत्री, नव-अभिनेता, नव-अभिनेत्री, नव-निर्देशक, खलपात्र, हाँस्य कलाकार, लेखन, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्वन्द्व निर्देशक रहेका छन् । बक्स अफिस ग्रुपका निर्देशक यज्ञराज सेढाइले अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने बताए । आयोजकले नयाँ बर्षको जनवरीमा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने बताएको छ ।

यो अवार्डको जुरी संयोजकमा पत्रकार भरत शाक्य रहेका छन् । उनले, नयाँ तरिकाले यसपटक आफूहरुले चलचित्रको मुल्यांकन गर्ने भन्दै त्यसको बारेमा जानकारी पछि गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu