‘छक्का पञ्जा २’ व्यापारको गज्जबको रफ्तार, के तोडिएला अघिल्लो रेकर्ड ?
काठमाण्डौ। वडा दशैँ २०७४ को अवसर पारेर फुलपातीको दिनदेखी प्रदर्शनरत नेपाली चलचित्र ‘छक्का पञ्जा २’ले व्यापारमा सफलता प्राप्त गरिरहेको छ । रिलीजको दिनदेखी नै प्रत्येक दिन करोड माथीको व्यापार सुरु गरेको यो चलचित्रले पहिलो दिन नेपालकै कलेक्शनमा किर्तिमानी राख्दै डेढ करोड माथीको कलेक्शन गरेको थियो ।
वितरकको आँकडा मान्ने हो भने अहिले सम्म यो चलचित्रले हरेक दिन करोड माथीको व्यापार गर्दै साढे छ करोडको कलेक्शन गरिसकेको छ । चलचित्रका निर्माता दीपकराज गिरीले पहिलो दिन र पहिलो हप्ताको कलेक्शनमा चलचित्रले रेकर्ड राख्नु नै सबैभन्दा ठुलो कुरा रहेको बताए ।
ठुलोपर्दा डटकमसँग कुरा गर्दै गिरीले दर्शकको यो बिश्वास ब्रान्डसँगको भएको बताइए । ‘केहि मानिसले गाली गर्दा-गर्दै पनि दर्शकले बिश्वास मानेर हलमा आए, हाम्रो ब्राण्डलाई पत्याए । फैलाईएको हल्लामा दर्शकले बिश्वास गर्दैनन् भन्ने पनि प्रमाणित भयो’, कलाकार समेत रहेका गिरीले बताए ।
उनको भनाईमा आफ्नै अघिल्लो चलचित्र ‘छक्का पञ्जा’ले सर्वाधिक कमाईमा राखेको रेकर्ड पनि तोड्ने आशा झल्किन्छ । उनि भन्छन्, ‘अहिले जुन स्पीडमा चलचित्रको कलेक्शन छ सोही अनुरुप यो शनीवार (पहिलो हप्ताको) सम्म भयो भने हामीले तिहारसम्ममा अघिल्लो चलचित्रको रेकर्ड तोड्नेछौँ तर, यो चलचित्र १०० दिन चल्ने फिल्म भने होइन’ ।
उच्च शिक्षाका लागि विदेश जान चाहने युवायुवतीको कथामा आधारित यो चलचित्रमा गिरीका साथमा केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, गौरव पहारी, स्वरुपपुरुष ढकाल, सन्ध्या केसी, प्रकाश घिमिरे, सरोज खनाललगायतले अभिनय गरेका छन् । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।