मस्टर्डसिड फिल्म फेस्टिभलमा ‘देश खोज्दै जाँदा’
काठमाण्डौ। भदौ ८ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिभल अमेरिकामा छनौट भएको छ । अमेरिकाको पेन्सलभिनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीन दिने फेस्टिभलमा ‘देश खोज्दै जाँदा’ नेपालबाट एक मात्र प्रतिनिधि हुनेछ । फिल्म अगस्त १९ , शनिबार बिहान प्रदर्शन हुने निर्देशक प्रकाश आङदेम्बे जानकारी दिए ।
फिल्मको प्रदर्शनमा नेपालबाट आर्ट डिरेक्टर पल्हाद गुरुङ सहभागी हुनेछन् । फेस्टिभलमा भारत, बंगलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकका फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । यसअघि ‘देश खोज्दै जाँदा’ ‘दादा साहेब फिल्म फेस्टिभल’को टप ७ सम्म पुगेको थियो ।
यस्तै, फिल्मले दिकर्निस कलेज अफदि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफतास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दिअन्ने फ्रांकप्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दिअन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीता जनाइसकेको छ ।
ललितकलासँग आबद्ध निर्वासित भुटानीहरुको संस्था इफकेन्स इन्टरनेशनल फाउण्डेसन, इफाका भुटान, लाइन क्रस मुभिज र गन्तव्य थिएटरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ।
उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्ममा आभाषको संगीत, श्रवण मुकारुङको संगीत, स्वरुपराज आचार्यको स्वर, मनोरञ्जन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन छ।