भुटानी शरणार्थी बनिन् शिल्पा
काठमाण्डौ। नेपाली चलचित्र ‘हामी शरणार्थी’ भाद्र ८ गतेबाट देशव्यापी रिलीज हुँदैछ । नेपालमा शरण लिएर बसेका भुटानी शरणार्थीहरुको कथामा आधारित यो चलचित्रमा नायिका शिल्पा पोख्रेलको प्रमूख अभिनय छ । शिल्पाको साथमा नायक जीवन भट्टराई पनि छन् ।
विजय लिम्बु केरुङको निर्देशन रहेको यो चलचित्रमा शिल्पा र जीवनका अलावा प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई, दिलीप योङहाङ लगायतको अभिनय छ । निर्देशक केरुङले चलचित्र सत्य घट्नामा आधारित रहि बनाएको बताए ।
हाल ‘विरांगना’को छायांकनमा व्यस्त नायिका शिल्पा पोख्रेलले २०४८ सालको कथालाई फिल्म हामी शरणार्थीमा उतार्ने प्रयास गरिएको बताइन् । उनले भुटानबाट लखेटिएको महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको यो फिल्म हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ । अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् ।