थाइल्याण्डमा ‘म यस्तो गीत गाउँछु’
पल शाह र पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ ।
रिलिजको एक हप्तामा झण्डै ४ करोड नजिकको व्यापार गरेको यो चलचित्र प्रदर्शनका लागि नायक पल शाह र कलाकार शोभित बस्नेत अहिले थाइल्याण्ड पुगेका छन् ।थाइल्याण्डमा शनिबार बेलुकी आयोजित शोमा दर्शकको चाप उच्च देखिएको छ ।
थाइल्याण्डबाट पलले भने–‘दर्शकले टिकट नपाएर फर्किनुपर्यो । दर्शकको उच्च चाप र चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले निकै खुशी लागेको छ ।’ थाइल्याण्डमा अझै केही शोहरु हुनेछ । पल सम्पूर्ण शो सकेर मात्र नेपाल फर्कनेछन् । जापान, हङकङका विभिन्न शहरमा चलचित्र प्रदर्शन भैसकेको छ भने केही देशमा प्रदर्शन हुन बाँकी छ ।
‘म यस्तो गीत गाउँछु’लाई ‘प्रेमगीत’ फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेका हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।