ओस्कारका विद्यार्थीलाई निलुको नाममा छात्रवृत्ति
काठमाण्डौ। दुई हप्ताअघि निधन भएकी चलचित्र निर्देशक निलु डोल्मा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । डोल्माको परिवार र कलेजबीच आइतबार ओस्कारमा पढ्ने ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् । ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइने बताईएको छ ।
छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ ।
यसैबीच ओस्कार कलेजका ६ जना विद्यार्थी थाईल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि छनोट भएका छन् । यही महिनाको जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन् ।
१० दिनसम्म चल्ने प्रतियागितामा कलेजबाट असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेति, सजल लोप्चन, दिवस अम्गाइा र जेसन लोप्चन छानिएका छन् । ६ जना जोडीको रुपमा तीन समूहमा विभाजित भइ प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाई भाट जित्नेछ भने थप ८ फिल्मले ३० हजार थाई भाट प्राप्त गर्नेछन् ।