यूएइमा रुचाइयो ‘मेरी कुसुम’
जेठ २५ गतेबाट नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुन लागेको मोहन बोगटी र हर्षिका श्रेष्ठ अभिनित चलचित्र ‘मेरी कुसुम’ अहिले यूएइका विभिन्न शहरमा प्रदर्शन भैरहेको छ ।
चलचित्रका नायक तथा निर्र्र्माता मोहन बोगटीका अनुसार, गत बिहिबार, शुक्रबार र शनिबार चलचित्रको भव्य प्रदर्शन अवुधाबीमा रहेको मुसाफा मार्केट र नेशनल सिनेमा, अल ऐन मलमा रहेको अल ऐन ग्रान्ड सिनेमामा ‘मेरी कुसुम’ प्रदर्शन गरिएको छ । हरेक हलमा बिहिबार एक शो, शुक्रबार २ र शनिबार १ शो आयोजना भएको थियो । यसबाहेक, दुबई, सार्जा, फुजेरा लगायतका सिटीमा अर्को हप्ता चलचित्र लाग्नेछ ।
चलचित्र हेर्नका लागि हरेक शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेपछि कलाकार बोगटी दंग देखिएका छन् । उनले भने–‘अवुधाबी र अल ऐन सिटीमा हरेक शोमा दर्शकको उपस्थिती उत्साहजनक देखियो । उहाँहरुले चलचित्रको कथावस्तु, गीतसंगीतलाई निकै रुचाउनुभयो ।’
सुनिता शर्मा बोगटी निर्मात्री रहेको चलचित्रको लेखन तथा निर्देशन एन.आर घिमिरेले गरेका हुन्। प्रेम र युद्धको कथामा निर्माण भएको यो चलचित्रमा दिव्य सुवेदीको छायांकन र टंक वुढाथोकीको संगीत छ।