इनास सिक्कीम अवार्ड आयोजक निन्दा गर्न पनि लायक छैनन्: पत्रकारहरु

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक २४ गते भारतको सिक्कीममा अन्तराष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गरेको दुई दिन अगावै पत्रकार तथा आयोजकका केहि सदस्य साथै अन्य केहि चलचित्रकर्मी काकरभित्ता पुगेर बास बसे । नेपालबाट हवाई मार्ग हुँदै जाने झण्डै एक सय चलचित्रकर्मीको पर्खाई र भन्सार कार्यालयको एउटा कार्यक्रममा सहभागि भएर भोलीपल्ट साँझ सिक्कीम हिडे नेपाली चलचित्रकर्मीहरु ।
अनावश्यक रुपमा भन्सारमा राखिएको परिचयात्मक कार्यक्रमलाई धेरैले अस्विकार गर्दै बाहिरै थिए । त्यो समूहमा नायिका करिश्मा मानन्धर पनि थिइन् । कार्यक्रम हलमा प्रवेश गर्ने बित्तिकै नायक राजेश हमाल र उनकी पत्नीले परिचय दिनुपरेको थियो, जुन दृश्य अचम्मको थियो । सबै नेपालीको मनमै रहेका हमालले परिचय दिनपर्नुलाई कसरी बुझ्ने ?
सिक्कीम पुगेपछि बीच बाटोमा नै एक रिसोर्टमा सम्मान र खाना खुवाएर चलचित्रकर्मीहरुलाई गान्तोक पुर्याईयो । रातको करिब १ बजे तिर होटल खोज्दै तीनपटक बस घुमाएपछि बाटोमा भेटिने ट्याक्सीवालासँग सोधखोज गर्दै पत्रकारको टोली पुग्यो PNG ROAD को एक होटलमा । जहाँ बस्न भनेर गएका सबै पत्रकारलाई कोठा नै थिएनन् । एकछिनमा अर्को होटलमा पत्रकार आँफैले ब्यवस्था गरेर बसे । भोलीपल्ट भने सबै पत्रकार (करिब १६ जना) एउटै होटलमा बसे ।
होटल यस्तो थियो जहाँ इन्टरनेट थिएन । अहिलेको स्मार्ट युगमा इन्टरनेटबीना के नै सम्भव छ र ? अझ पत्रकारले त हरबखतको अपडेट राख्नुपर्छ अनि जनतासामु पुर्याउनु पनि पर्छ । बंगाली होटलवालाले हाम्रो कुरा बुझ्नेवाला पनि थिएन, यसको मतलब हाम्रो कुराको उसलाई कुनै वास्ता थिएन । आयोजक सम्पर्कमा थिएनन् । उनिहरु आएर समस्या बुझ्लान भन्ने आशामा नै पत्रकारको तीन दिन बितेको थियो । न खाने तालिका छ, न कार्यक्रमको तालिका छ । त्यहि समयमा भारतमा भएको ५०० र १००० का नोट बन्देजले अझै गाह्रो बनाउने पक्का थियो । आँफैले इन्टरनेट ब्यवस्था गर्न पनि पत्रकारलाई सास्ती नै भयो अझ भनौँ सम्भव नै रहेन ।
आयोजक पुरै बेखबर थियो । सम्पर्कमा कोहि आएनन् । एक जना अर्को होटलमा बसेका पत्रकारले अवार्ड कार्यक्रमको समय चार बजे भनेपछि मात्र सबैलाई थाहा भएको थियो । चार बजे भनिएको कार्यक्रम ७ बजे सुरु भयो । मध्यरात कटेर अर्को दिन सुरु हुँदा सम्म भईरह्यो । त्यहाँ के-के भयो सबै समाचारहरुमा छर्लंगै आईरहेका छन् ।
यो पनि पढ्नुहोस्: — सिक्कीममा दीपक-दीपाले सम्मान थापेनन्, करिश्माको दु:ख उस्तै
भोलीपल्ट अबेर उठेका पत्रकारलाई सिक्कीम सरकारले २०० करोडमा बनाएको चारधाम लैजाने खबर आयो । खबर आयो १० बजे । केहिलाई बिहानै लगिएको रहेछ, तर पत्रकार र केहि बाँकीलाई भने १० बजे खबर आएको रहेछ । त्यहाँ रहेका आधा पत्रकार चारधाम लागे, आधी भने होटल बाहिर कुरेको कुरेकै । लिन कोहि आएनन् । जति भ्यान आए अटेका पत्रकार त्यता लागेका थिए ।
त्यहाँ रोकिएका पत्रकारहरु सिक्कीमका मुख्यमन्त्री पवन चाम्लिङ्ले दिएको पार्टीमा भेटिए । त्यहाँ अन्तराष्ट्रिय कलाकार समाजका केन्द्रिय अध्यक्ष पुष्प बरुवाल पनि भेटिए । बरुवालसँग ब्यवस्थापन कमजोरीको बारेका गुनासो राख्दा उनले ‘यस बारेमा मलाई केहि नभन्नुस्’ भनेपछि पत्रकारको पारो साँच्चिकै तात्यो । त्यसपछि उनले माफी माग्दै त्यतै भिडमा हराए ।

यति गुनासो पोखेपछि भोलीपल्टको ब्यवस्थापन राम्रै होला भन्ने विश्वास पत्रकारलाई थियो, तर त्यसो भएन । पार्टी सकिने बेला नेपालतर्फी ब्यवस्थापन सदस्य सम्झना उप्रेती रौनियारले बिहान पाँच बजे नै तयार हुन आग्रह गरिन् । पत्रकार मात्र होइन सबै चलचित्रकर्मी बिहानै तयार भए ।
पत्रकारको एक टोली पनि बिहान ८ बजे नेपालतर्फ हिड्यो । सिक्कीममा बाँकी ९ पत्रकारलाई अर्को सवारी साधन लिन आउने बिस्वासले कुरिरहे । होटल चेकआउट सकियो । होटलको गेटमा ९ पत्रकारले कुरिरहे, मात्र कुरिरहे । लिन कुनै बस आएन । बिहान फोन आएको एउटा नम्बरमा सम्पर्क गर्दा १५ मिनेटमा बस आउने जानकारी आयो तर, १२ बजेसम्म आएको थिएन । सम्पर्क गर्दा दशौँ पटक सम्म फोन उठेन । अनि ९ जनाको टोली आफैले ब्यवस्था गरी नेपाल फर्कियो ।
बाटोमा एउटा फोन आयो, जुन फोन पत्रकारले सामाजिक सञ्जालमा आक्रोश पोखेपछि आएको थियो । करिब १ बजे फोन आउँदा टोलीले आधा घण्टाको बाटो कटिसकेको थियो । उक्त फोनमा किन पर्खिनुभएन भनेर उल्टै प्रश्न आएको थियो । काठमाण्डौ सम्म नै टोली आँफै फर्कियो । आँफै फर्किनेहरुमा पत्रकार मात्र होइन, चर्चित कलाकारहरु तथा बरिष्ठ फिल्मकर्मी पनि रहेछन् । यो कुरा काठमाण्डौमा थाहा भयो । आयोजले केहिलाई थोत्रा गाडीमा फर्काएछ भने केहि लाई जहाजमा नै ल्याएछ ।
यस बिषयमा हामीले केहि पत्रकारसँग कुरा गरेका छौँ जो सिक्कीम पुगेका थिए ।
सामिप्य तिमिल्सिना (नागरिक दैनिक):
यति झुर व्यबस्थापन कहिँ कसैले पनि गर्दैन । मेरो गुनासो सिक्कीमका ब्यवस्थापक सँग पनि छ । उनिहरुले पनि नेपालबाट गएका पाहुनालाई ब्यवस्थापन गर्न सक्नुपर्थ्यो । खाने-बस्ने-हिड्ने तालिका ब्यवस्थापन गर्नुपर्थ्यो । यताका आयोजक त निन्दा गर्न पनि लायक छैनन् । त्यसै त नेपालमा किन, के का लागी र कस्ताले अवार्ड पाउँछन् भन्ने प्रश्न उठिरहेको छ । त्यसमाथी यो घटनाले झन सशंकित बनाएको छ ।
विजय आवाज (अनलाईन खबर डटकम):
व्यवस्थापन गर्न सकिदैन भने अवार्ड विदेशमा नगर्दा नै राम्रो हुन्छ । सिक्किम अवार्डको मुख्य समस्या नै यहि थियो । यो नियतवस भयो या नजानेर भयो यो बिषयमा आयोजकले मुख खोल्नुपर्छ ।
नेमिश गौतम (हिमालयन टाईम्स – नेपाली):
आयोजकको लापरवाहीले सिक्किममा पीडा भोगियो, यस्तो पीडा आगामी दिनमा हुने अन्य अवार्डमा कसैले पनि नभोगुन् ।
सुशिल पौडेल (कान्तिपुर दैनिक):
इनास अवार्ड आयोजकको खराब ब्यबस्थापनले गर्दा समस्या आयो । कलाकारले के खाए ? कहँ कसरी बसेका छन् भन्ने न्यूनतम जानकारी समेत आयोजकले राख्न चाहेन । पत्रकारले समाचार पठाउन कठिनाई भोग्नुपर्यो । लगिएका अतिथिलाई सही ढंगले फर्काएको पाईएन ।
जिवन पराजुली (ठुलोपर्दा डटकम):
अतिथीको मुल्य न नेपाली आयोजकले जान्यो न त सिक्कीमको आयोजकले नै । पत्रकार होस् या कलाकार अथवा प्राविधिक, सबैले सहि सत्कार र ब्यवस्थापन पाउनु पर्छ । सिक्कीमको इनास अवार्ड आयोजक प्रति खेद छ । अझै धेरै सिकेर मात्र यस्ता आयोजनाहरुमा हात हालेको राम्रो । ग्लोबल अध्यक्षले ‘मलाई यस बारेमा नभन्नुस्’ भन्नुले उनिहरुको बौद्दिकता प्रस्टै भएको छ ।
गोकर्ण गौतम (नेपाल साप्ताहिक):
यसरी विदेशमा अवार्ड गर्नुपूर्व कसले र किन गर्दैछ भन्ने ख्याल मूख्य आयोजकले गर्नुपर्यो । नेपालको आयोजकबाट पनि कलाकार-पत्रकारलाई अपमानित गरियो । सिक्कीममा पनि त्यहाँको ब्यवस्थापनले अतिथी ब्यवस्थापनमा शुन्य काम गरेको छ ।
कमल प्रसाईँ (अनलाइनखबर डटकम):
ब्यवस्थापन होइन, बेवास्तापन हो यो । यिनिहरुको कारण अन्य नेपाली अवार्ड आयोजकहरुमा जून कालो धब्बा लागेको छ त्यसप्रति सबैको गम्भिर ध्यानाकर्षण हुनु जरूरी छ र नेपाली चलचित्र सँग संबन्धित निकायले यस्ता ‘कु नमूना’लाई कारवाही गरोस्, कलाकारलाइ निरुत्साहित हुनबाट बचाओस् ।