मापदण्डको सकस : एक बिश्लेषण



दर्शक यति सम्म पनि मुर्ख छैनन कि राम्रो र नराम्रो फिल्म छुट्याएर हेर्न पनि नसकुन् । भारत लाई नै हेरौ न, फिल्म मेकिङमा त्यहाँ यति धेरै बिविधता छ कि, संसारकै सुन्दर फिल्महरु पनि त्यही बन्छन, अनि संसारकै कुरुप फिल्महरु पनि ।

Writer: Apil Tripathi
Writer: Apil Tripathi

अपिल त्रिपाठी। एक समय थियो – राजनैतिक नियुक्तिबाट आएका चलचित्र विकास बोर्डका पदाधिकारीहरुले मनोमानी गर्दा फिल्मकर्मीहरु वोर्डमा कम्तीमा सिनेमाको आधारभुत ज्ञान भएका पदाधिकारीहरुको आवश्यकता महशुस गर्दथे । आज वोर्डमा फिल्मकर्मीहरु छन्, अपशोच उनीहरुकै निर्णयमाथी स्वयं फिल्मकर्मीहरु नै विरोधमा निस्किएका छन् ।

विगतलाई हेरौ – एकै प्रकारका सिनेमा लगातार दशकौं सम्म बनिरहँदा र देखाइरहँदा सिनेमामा पटक्कै नविनता आएन । त्यसपछी भएको नयाँ फिल्मकर्मीको प्रबेशले बिषयबस्तु र मेकिङमा नविनता त आयो, तर पनि अपवाद बाहेक निर्माताको लागी सिनेमा भनेको फिर्ता नआउने लगानी बनिरहृयो । समयको लम्बाईलाई हेर्ने हो भने पुरानो शैलीको परीक्षण सकियो, नयाँको परीक्षणकाल जारी छ ।

नयाँ सह-निर्माताको लगानी लाई मुख्य निर्माताले झ्याम पारेको उदाहरण हामीकहा थुप्रै छन् । पढेका र परेका निर्देशकले झुर फिल्म बनाएका उदाहरण पनि कम छैनन् । तर सिर्जनालाई सिमाबिहीन स्वतन्त्र ठान्नु हुदैन, त्यसैले त सेन्सर बोर्ड छ ।

कुन व्यक्तिले फिल्म निर्देशन गर्न सक्छ र कसले सक्दैन त्यसको मापदण्ड तयार गर्नु अमुर्त किन पनि देखिन्छ भने सिर्जना लाई जोख्ने तराजु आजसम्म बनेको छैन । नेपाली फिल्मको मुख्य समस्या स्कृप्टमा छ, जारी मापदण्ड स्कृप्टबारे मौन छ । राजकुमार राईको निर्णय, चलचित्र विकास वोर्डको अध्यक्षको कम र निर्माता संघको अध्यक्षको ज्यादा लाग्छ । दर्शक स्वतन्त्र छन् । अनेक थरीका फिल्म अनेक थरी ब्यक्तिले बनाए हुन्छ । दर्शक यति सम्म पनि मुर्ख छैनन कि राम्रो र नराम्रो फिल्म छुट्याएर हेर्न पनि नसकुन् । भारत लाई नै हेरौ न, फिल्म मेकिङमा त्यहाँ यति धेरै बिविधता छ कि, संसारकै सुन्दर फिल्महरु पनि त्यही बन्छन, अनि संसारकै कुरुप फिल्महरु पनि ।

सिर्जना र अनुभवको प्रायः सम्बन्ध हुदैन । अनुभवीहरुले गतिलो सिर्जना नगर्न पनि सक्छन् । कहिलेकाहीँ दुर्लभ सिर्जना अनुभव नभएकाहरुले पनि गरीदिन्छन् । समयसँगै सिर्जनसिलता स्खलित भइरहेको उदाहरणहरु पनि कैयन छन् । तर सिनेमाको आधारभुत ज्ञान नभएकाहरुले पनि निर्देशक जस्तो संवेदनशिल उपाधी हासील गरीरहेको सत्य हो । त्यस्ता निर्देशकहरु क्रमशः कतार र मलेसिया भासिएको तथ्य पनी लुकेको छैन । खोज्दै जाने हो भने यस्ता उदाहरण शहरका सबै ब्यावसायमा होलान् ।

ब्यावसायिक रुपमा असफल भएका सबै फिल्महरु नराम्रा थिए भनेर भन्न मिल्दैन । एउटा नागरीकले आफुसँग भएको रकम आफ्नो इच्छा भएको पेशा जसलाई मुलुकको कानुनले वैधानिकता दिएको छ, त्यहा लगानी गर्न पाउनु पर्छ । ब्यावसायिक सुरक्षाको लागी ब्यावसायीहरुले मापदण्ड बनाउनु गलत होइन, तर मापदण्डको नाममा निषेधको रणनिती हो भने त्यो निन्दनिय हुनेछ ।

जारी गरीएको मापदण्डको ब्यबहारीक असर यस्तो पर्ने देखिन्छ:
– नेपालमा विदेशी फिल्मको प्रभाव अनपेक्षीत बढ्नेछ ।
– निर्माताहरुसँग निर्देशकका धेरै विकल्प हुने छैनन् । पुराना निर्देशक अपेक्षीत व्यस्त हुनेछन् ।
– सिनेमाबाट हाल हात धोएर बसेका निर्देशकहरु फेरी एकपटक जुर्मुराउनेछन ।
– दर्शकहरुसँग नेपाली फिल्मको सङख्या, मेकर, र शैलीको प्रर्याप्त विकल्प हुने छैनन् ।
– मापदण्डको प्रभावकारी कार्यान्वयनमा पनि शंका छ । मापदण्ड पुगेको निर्माता र निर्देशक बनेको देखिनकै लागी फिल्म शुरु हुदा आउने क्रिउको नाममा असम्बन्धीत ब्यक्तिका नामहरु समेत पर्दामा देखिनेछन् ।
– नयाँ युवाहरु जो फिल्म मेकिङमा आउन चाहन्छन् उनीहरुलाई योग्य बन्न अपानाउनु पर्ने भनिएको प्रक्रिया झन्झटिलो र अपत्यारीलो लाग्न सक्छ । जसबाट नयाँ मेकरको प्रबेश अनपेक्षीत घट्नेछ ।

अनर्थ नलागोस एउटा उदाहरण हेरौ,
यदी साँच्चै मापदण्डको मर्म जस्तै हाम्रो समस्या हो भने, हाल मापदण्डको वकालत गर्नेहरुले निर्माण र निर्देशन गरेका फिल्महरु चाहीँ किन ब्यावसायिक रुपमा असफल भएका होलान ? एउटा फिल्ममा सह-निर्माता भएको व्यक्तिले मुख्य लगानी गरेको फिल्म, जसलाई पाँच वटा फिल्मको सहायक निर्देशकले निर्देशन गर्‍यो भने त्यो फिल्म पक्का हिट हुन्छ त ? हिट नभए चलचित्र बिकास वोर्डले क्षतिपुर्ती दिन्छ ?

कस्तो फिल्म हिट हुन्छ त ? यसको संसारमा एउटै जवाफ छ – राम्रो फिल्म हिट हुन्छ । कस्तो फिल्म राम्रो हुन्छ ? यसको करोडौ जवाफ छन् । तर विश्वब्यापी मान्य जवाफ केही पनि छैन ।

हामीकहाँ फिल्म मेकिङमा भन्दा ठुलो समस्या वितरण र प्रदर्शनमा छ, ट्रान्सपरेन्सीमा छ । चलचित्र विकास वोर्डको ध्यान त्यस तर्फ जान जरुरी छ ।

फेरी पनि, स्वतन्त्रता र अधिकारले अराजकता निम्त्याउनु हुदैन तर भ्रुणको शिकार गर्न पनि हुदैन । सिमाबिहीन स्वतन्त्रता पनि आवश्यक छैन । सिण्डीकेट त असहृय नै हुन्छ है ।
[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu