गोपिकृष्णले बनाउने भो ‘यो पागल मन’
ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि महिना अगाडी काठमाडौंमा एक भब्य कार्यक्रमको आयोजना गरि एक साथ सात चलचित्रको निर्माण गर्ने घोषणा गरेको गोपिकृष्ण मुभिजले मंगलवार आफ्नो तेस्रो प्रोजेक्टको निर्माण घोषणा गरेको छ । यस अघि ‘होमवर्क’ र ‘ठमेल डटकम’को निर्माण घोषणा गरेको गोपिकृष्णले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि तेस्रो चलचित्र ‘यो पागल मन’को निर्माण घोषणा गरेको छ ।
चलचित्र ‘यो पागल मन’को गोपिकृष्ण मुभिजका अध्यक्ष उद्धव पौडेल र निर्माता संघका अध्यक्ष राजकुमार राईले संयूक्त रुपमा औपचारिक शुभारम्भ गरेका थिए । चलचित्रको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उद्धव पौडेलले चलचित्र ‘यो पागल मन’ उत्कृष्ट बनाउने दाबी गरे । लभस्टोरी कथामा निर्माण हुन लागेको यस चलचित्रको छायांकन भने बैशाख १५ गतेबाट सुरु हुने बताइएको छ । चलचित्रमा गौरी मल्ल,बर्षा सिवाकोटी, सगुन शाही, विनोद न्यौपाने, दिपक अधिकारी लगायतका कलाकारहरुले अभिनय गर्नेछन् भने चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गर्नेछन् ।
चलचित्र ‘यो पागल मन’मा समावेश हुने गीतहरुमा अर्जुन पोखरेलको संगीत रहने छ भने गायक राजेश पायल राईको आवाज समावेश हुनेछ । राजेश सहित स्वरुपराज आचार्य, अञ्जु पन्त, दुर्गा खरेल र भुवन प्यासीको स्वर रहनेछ । चलचित्रलाई शम्भु सापकोटाले खिच्नेछन् । ‘यो पागल मन’ लाई चितवन, हेटौंडा र नारायणघाटमा खिचिने बताइएको छ । २०७२ सालमा ७ वटा चलचित्रको निर्माण गर्ने सुर कसेको गोपिकृष्णको दुई वटा चलचित्र अर्थात ‘होमवर्क’को यति बेला सम्पादन कार्य धमाधम सुरु भइरहेको छ भने अर्को चलचित्र ‘ठमेल डटकम’को छायांकन भइरहेको छ ।