अनुपको जन्मदिनमा ‘दोख’ घोषणा

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पहिलो पटक चलचित्र ‘फिटकिरी’ निर्देशन गरेर चलचित्र निर्देशनमा हात हालेका अभिनेता अनुप बरालले आफ्नो निर्देशनमा तयार हुन लागेको अर्को चलचित्रको पनि निर्देशन गर्ने औपचारिक घोषणा गरेका छन् । शनिबार राजधानीमा आफ्नो जन्मदिन समेत मनाउँदै अभिनेता बरालले ‘दोख’ नामक चलचित्रको निर्देशन गर्ने घोषणा गरेका हुन् ।
सामाजिक कथामा आधारित भएर निर्माण हुन लागेको यस चलचित्रलाई उत्कृष्ट चलचित्र बनाउने बरालले जानकारी दिए । राजन कठेतको कथा रहेको यस चलचित्रलाई अनुप बरालले निर्देशन गर्ने छन् । थिएटरका कलाकारहरुको अभिनय रहने यस चलचित्रमा लोकमणी सापकोटा, रोय श्रेष्ठ, दिवाज किरात राई, राज थापा, सुरज मल्ल, केशव राई, दिया मास्के लगायतका कलाकारहरुले अभिनय गर्ने छन् । बैशाख १ गतेबाट चलचित्रको छायांकन सुरु हुने जानकारी दिँदै निर्देशक अनुप बरालले चलचित्रले नेपाली समाजको मौलिक कथा बोक्ने बताए ।
कार्यक्रममा बोल्दै चलचित्रका निर्माता सविन ज्ञवालीले दोख चलचित्रलाई आफुले धेरै बुझेर मात्र निर्माण गर्न लागेको बताएका छन् । चलचित्र दोखको औपचारिक घोषणा कार्यक्रममा चलचित्रको थिम भिडियो पनि सार्वजनिक गरिएको थियो । चलचित्रमा शैलेन्द्रध्वज छायांकन रहने छ भने अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रका गीतहरुमा आभाष फुयाँलको संगीत सुन्न सकिने छ ।