अपिल त्रिपाठी, पोखरा ।
नेपाली फिल्म ‘मेरो मान्छे’को छायाङ्कन हाल पोखरामा भइरहेको छ । प्राकृतिक स्टुडियो मानीने पोखरामा ‘मेरो मान्छे’ को छायाङ्कन हाल लेकसाइड आसपासका क्षेत्रमा भइरहेको छ । आगामी तीन दिन सम्म चलचित्रको छायाङ्कन पोखरामा हुने फिल्मका प्रस्तुतकर्ता नारायण खतिवडाको भनाई छ ।
फिल्मका निर्देशक राज सरगमले ‘मेरो मान्छे’ सांगीतिक प्रेमकथा रहेको बताए । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुँदै गरेको चलचित्रको यस अघि चितवनमा छायाङ्कन भएको थियो । चलचित्रको निर्माण लागत ३५ लाख रहेको प्रस्तुतकर्ता खतिवडाले जानकारी दिए । फिल्मको करीब ८० प्रतिशत छायाङ्कन सकिएको छ ।
चित्रसेन बाबा मिडियाको तेस्रो प्रस्तुतीबाट राज सरगम निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा नयाँ कलाकारको बाहुल्यता छ । दिपक ढकाल, अनिल अधिकारी, सगुन शाही, रमेश लोहनी, गणेश उप्रेती, राज यादव, रबिन कठायत, स्मीता थपलिया लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ ।
यही फिल्मबाट डेब्यु गरेका नायक दिपक ढकाल सुरुमा केही नर्भस भएपनि अहिले कम्फर्ट भएको बताउँछन् । नायीका सगुन शाही भन्छिन – “फिल्मको कथा राम्रो छ, फिल्म राम्रै चल्नुपर्ने हो जस्तो लाग्छ ।” फिल्मका अर्का नायक अनिल अधिकारी ‘मेरो मान्छे’ बाट आफु निकै उत्साहीत रहेको बताउँछन् । पुराना कलाकार गणेश उप्रेती नयाँ टिमको काम गर्ने शैली बाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
अर्जुन पोख्रेलको संगीत रहेको फिल्मका निर्माता संयोग खतिवडा हुन् । फिल्म रवी कोइरालाले खिच्दैछन् ।