सेलिब्रेटीका भावनात्मक भाइटिका



Writer: Bijay Ratna
Writer: Bijay Ratna

विजयरत्न ।रेखा थापालाई चर्चामा आउन सिपालु मानिन्छ र त्यसैले तिनले माओवादी नेता सागरलाई भाईटिका लगाईदिँदा चर्चामा आउने बहानामात्रै मान्ने धेरै भेटिए । यस्तै तिनले कलाकार, संगीतकार एवं निर्देशक कमलकृष्णलाई भाईटिका गर्दा पनि त्यस्तै कुरा उठे । अझ रेखा थापालाई वर्षैपिछे आफ्नो दाजुभाइ फेर्न रुचाउने नायिका भन्नेहरु पनि नभएका होइनन् । जे भए पनि उनी आफ्नै सहोदर दाजुभाइ बाहेक पनि अरुलाई भाइटिका गर्न क्रममा अग्रपंक्तिमा पर्ने नायिका हुन् ।

सानै उमेरदेखि चलचित्र क्षेत्रमा लागेका सन्तु थरले तामाङ्ग हुन भने पेशाले मेकअपम्यान हुन् । लोकप्रिय नायिका करिश्मा पनि सानै उमेरमा चलचित्रकर्ममा लागेकी हुन् । जन्मथर के.सी. बाट वैवाहिक थर मानन्धरमा परिणत भएकी करिश्मा मानन्धरको सन्तु तामाङ्गसित कुनै रगतको नाता छैन । तर उनीहरु बीच भावनाको गहिरो नाता छ । त्यो नाता हो दिदीभाईको नाता । सन्तु तामाङ्गले हरेक वर्ष भाईटिकाको दिन करिश्मा मानन्धरको हातबाट टिका थाप्दै आएको धेरै वर्ष भयो । बीचमा अमेरिका भासिंदा यो क्रम रोकिन पुगेको थियो । अहिले भने सन्तु तामाङ्ग कोरियामा छन् । करिश्माले भाइटिका गर्दै आएका अर्का चलचित्रकर्मि बाबुराम दाहाल हुन् । उनी गीतकार हुन् । फर्कि आउ, मधुमास र धण्दा चलचित्रहरुका निर्माता पनि हुन् ।

नेपालको चलचित्र जगतका कर्मिहरु बीच भावनाको यस्तो गहिरो नाता सन्तु र करिश्मा बीचमात्र हैन अरुहरु बीच पनि छन् । सन्तु तामाङ्ग आफै पनि एक अर्का अभिनेत्री मिथिला शर्माबाट भाईटिका थाप्दै आएका चलचित्रकर्मी हुन् ।

ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले धेरै वर्ष अगाडि मौसमी मल्ललाई दिदी बनाएका थिए । केही वर्ष टिका पनि थापे । मौसमी मल्लको जीवनमा आएको वैवाहिक समस्याहरुको कारण मौसमी चलचित्र क्षेत्रबाट नै टाढिंदा उनीहरु बीचको टिकाको नातामा पनि केही समय विश्राम लाग्यो । अहिले मौसमी मल्ल पुनः चलचित्र क्षेत्रमा फर्कीसकेकी छिन् । तर यो नाताले पनि निरन्तरता पाउने सम्भावनाबारे कुनै चर्चा छैन । फोटोग्राफर राजीव श्रेष्ठले अर्की सेलेब्रिटी सिर्जना योञ्जनसित पनि दिदी भाईको भावनात्मक नाता बनाएका छन् । जुन अहिलेसम्म चलि नै रहेको छ ।

गायकका रुपमा भारतमा ख्याती कमाउन सफल भएका उदित नारायण झा कि धर्मपत्नी दिपा झाले धेरै वर्ष अगाडि छायाङ्कार एवं निर्देशक चन्द्रप्रकाश घिमिरेलाई टिका लगाई भाई बनाएकी थिइन् ।

santu-and-mithila

भावनाको यस्तो सम्बन्ध चलचित्रकर्मीहरु बीच मात्र नभई चलचित्रकर्मी र गैर चलचित्रकर्मी बीच पनि जोडिएको उदाहरण नभएको हैन । नायिका मेलिना मानन्धरले पनि यस्तै एउटा नाता निर्वाह गर्दै आएकी छिन् । उनले प्रेस व्यवसायी शिव कुमार शुक्लासित भाईटिकाको दिन टिका लगाउने र जनै पूर्णिमाको दिन राखी बाँध्ने दुबै संस्कारलाई निरन्तरता दिंदै आएकी छिन् ।

“सिलसिला” चलचित्रबाट निर्माता समेत बन्न पुगेका हास्य अभिनेता सि.पि. पौडेलले चलचित्र क्षेत्रका चर्चित हेयर ड्रेसर रीतु रानालाई दिदी बनाएका छन् । उनै रीतुले सन्तु तामाङ्गलाई दाई मानेर टिका लाईदिने गरेकी छिन् भने यो लेखकले पनि केही वर्ष अगाडिसम्म रितुबाट भाईटिका र दिपा झाबाट राखी बाँध्ने पाएको थियो । उसो त दिपा झाले वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई पनि भाई मानेर राखी पठाउने गरेकी थिइन् तर अहिले त्यो क्रम टुटेको धेरै भईसकेको छ ।

tika

अभिनेत्री जल शाह र नायक दिलिप रायमाझीले केही चलचित्रमा नायक-नायिका भई काम गरेका छन् । पर्दामा प्रेमका दृश्यहरु दिनु परे पनि जीवनमा उनीहरु दाजु बहिनीको भावनात्मक नाता बनाएका चलचित्रकर्मिहरु हुन् ।

नायिका विपना थापाले अभिनेता किरण के.सी. का पुत्र सुदन के.सी.लाई टिका लगाई भाई बनाएकी थिइन् भने चर्चित फोटोग्राफर राजभाई सुवाललाई दाजु बनाएकी थिइन् । अहिले उनी विवाह बन्धनमा बाँधिएर भारतमा बस्न गएकोले गर्दा यो वर्ष सुदन के.सी. र राजभाई सुवालले विपना थापाबाट टिका थाप्न पाउने वा नपाउने कुराको टुङ्गो लागिसकेको छैन ।

जल शाहले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि दाजु बनाएकी थिइन् । जलले अर्का एक नायक रमेश उप्रेतीलाई पनि हरेक वर्ष सप्तरङ्गी टिका र मखमलि फूलको माला पहिर्यानउने गर्थीन् ।

tika-1

एक जमाना कि लोकप्रिय नायिका शर्मिला मल्लले अभिनेता एवं निर्माता अशोक शर्मालाई दाजु मानि टिका लगाउँदै आएकी छिन् । उता अशोक शर्माले वरिष्ठ चलचित्रकर्मी नीर शाहकी धर्मपत्नी उषा शाहलाई दिदी मानेर टिका थाप्ने गर्थे ।

अभिनेता दिलिप रायमाझी एक पटक “लहना” चलचित्रको छायाङ्कनको क्रममा सिक्किम पुगेका थिए । छायाङ्कनको क्रम नेपालीहरुको महान चाड तिहारसम्म पनि टुङ्गिन नपाएपछि लहना टोलिसँग सम्बन्धित चलचित्रकर्मीहरुले उतै तिहार मनाउनु परेको थियो । यसै क्रममा “लहना” का निर्देशक तुलसि घिमिरेकी धर्मपत्नी भारती घिमिरेले भाईटिकाको दिन दिलिप रायमाझी लगायत कतिपय चलचित्रकर्मीलाई टिका लगाई भाई बनाएका थिए ।

यस्ता उदाहरणहरु धेरै छन् । जे भए पनि भाईटिकाको पवित्रतालाई यसरी चलचित्रकर्मीहरुले भावनाको गहिरो नातामा रुपान्तरीत गरी त्यसको निर्वाह समेत गर्दै आईरहेकोलाई उदाहणीय मान्नु पर्दछ ।
[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu