‘मन्डे मुभिज’मा ‘द सङ्ग्स् अफ स्पारो’



monday

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फिल्मबारे छलफल गराउने उद्देश्यले सोमबारबाट मण्डला थियटरमा ‘मन्डे मुभिज’ नामक कार्यक्रम शुरु भएको छ । हरेक सोमबार हुने यस कार्यक्रममा हरेक महिना एउटा देशका फिल्महरु देखाइनेछन् । त्यसैअन्तर्गत सोमबार इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेको चलचित्र ‘द सङ्ग्स् अफ स्पारो’ प्रर्दशन गरियो ।

९६ मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । फिल्म समिक्षक यज्ञश, निर्देशक निश्चल बस्नेत र इरानी फिल्ममेकर कोमिइल सोहेइली अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया फिल्मका प्रविधि, कथावस्तु र अभिनयमाथि केन्द्रित थियो ।

इरानी निर्देशक माजिदीले निर्देशन गरेको ‘संग अफ स्पारो’ करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस फिल्मले सन् २००८ को बर्लिन अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो । यो फिल्म ८१ औं एकेडेमी अवार्ड अन्तरगत उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्डमा मनोनयनमा परेको थियो । निर्देशक माजिदीले निर्देशन गरेको ‘चिल्डेन अफ हेभेन’ ले सन् १९९८ को एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जितेको थियो ।

फिल्म समिक्षक यज्ञशले फिल्ममा वौद्धिक किसिमको दृश्यका भाषाको प्रयोग भएको जानकारी गराए । ‘यस फिल्ममा प्रयोग भएका दृश्य भाषाको माध्यमबाट निर्देशकले हुँदाखाने वर्गको भावना समातेका छन् । उनी बालबालिका केन्द्रित फिल्म बनाउनका माहिर मानिन्छन् । फिल्मको सुरुवातदेखिनै निर्देशकले पात्रहरुमा पोयटिक कन्ट्राडिक्सन गराएका छन्,’उनले भने ।

त्यस्तै इरानी फिल्ममेकर सोहेइलीले इरानमा विदेशी फिल्महरु हलमा नचल्ने बताए । ‘इरानमा विभिन्न शैलीका फिल्महरु निर्माण भएपनि अन्तराष्ट्रियस्तरमा भने इरानी आर्ट फिल्महरु पुग्ने गरेका छन् । अधिकांश इरानी फिल्महरु कविताहरुबाट प्रभावित हुने गरेका छन् । निर्देशक माजिदीले निम्न वर्गका मानिसका कथामा फिल्म बनाउने गरेका छन्,’उनले भने ।

फिल्म निर्देशक निश्चल बस्नेतले नेपाली फिल्महरुमा कुनै किसिमको विम्बहरु नभेटिने बताए । ‘यस फिल्ममा धेरै विम्बहरु छन् । नेपाली फिल्मको कथाहरुनै राम्रो हुन सकेको छैन् । केही निर्देशकहरुले भने पछिल्लो समयमा नेपाली मौलिकतालाई फिल्ममा समावेश गरिरहेका छन्,’उनले भने ।

समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । फिल्मसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर फिल्ममाथिका विभिन्न छलफलमा गराउन आयोजक लागि परेको छ ।

‘हरेक सोमबार मन्डे मुभिजमा सहभागि भएर फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । फिल्मबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो । सदस्यबाहेकका फिल्ममा रुचि राख्नेहरुले फिल्म हेर्न र छलफलमा सहभागि हुन सक्नेछन् । एक महिनाभर एउटा देशका फिल्महरुमाथि कुराकानी हुनेछ,’आयोजककी स्मृति ढुंगानाले भनिन् । वार्षिक रुपमा एक हजार रुपैंया तिरेर मन्डे मुभिजमा सदस्य बन्ने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu