एनएफडिसी अवार्डमा झोलाको बर्चश्व, आर्यन र गरिमा उत्कृष्ट



Aaryan-1

अनिल यादव, काठमाण्डौ ।
दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र अवार्डमा प्रदान गरिँदै आएको प्रकाश सर्वोत्कृष्ट निर्देशकको अवार्ड यसपटक चलचित्र ‘झोला’ बाट निर्देशक यादव भट्टराइले हात पारेका छन् । शनीवार राजधानीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्ड समारोहमा भट्टराई भने अनुपस्थित थिए । उनको अनुपस्थितीमा ‘झोला’ का कलाकार गरिमा पन्त, लक्ष्मी गिरी लगायतले उनको अवार्ड लिए । उत्कृष्ट निर्देशकको विजेतालाई १ लाख नगद पुरस्कार रहेको थियो । अन्य विधालाई भने ५१ हजार नगद पुरस्कार रहेको थियो ।

यस्तै यसपटकको उत्कृष्ट नायकको उपाधी चलचित्र ‘महसुस’ बाट आर्यन सिग्देलले चुमे भने ‘झोला’ बाट अभिनेत्री गरिमा पन्त सर्वोत्कृष्ट नायिका भइन् । उत्कृष्ट चलचित्रको उपाधी पनि ‘झोला’ ले नै पायो । कार्यक्रममा सबैभन्दा बढी विधामा अवार्ड पाउने चलचित्र ‘झोला’ नै बन्यो जसले उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका, उत्कृष्ट चलचित्र र सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड हात पार्‍यो ।

Garima-1

यस वर्ष व्यवसायिक रुपमा सफल बनेको चलचित्र ‘नाइ नभन्नु ल २’ ले पनि ३ विधामा अवार्ड जित्यो । सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट पार्श्र्व गायन र सर्वोत्कृष्ट व्यवसायिक चलचित्रको उपाधी सो चलचित्रले जितेको हो ।

श्रीलंकाका मन्त्री गोविन्दा नायके र आपूर्तीमन्त्री सुनिल थापाले उद्घाटन गरेको उक्त कार्यक्रममा वितरण गरिएका अवार्डहरु विभिन्न चर्चित कलाकर्मीको नामबाट रहेको थियो । अवार्डको शुरुवातमै नायक दीलिप रायमाझीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । जसलाई नायिकाहरु केकी अधिकारी, रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, निता पोख्रेलले साथ दिएका थिए । उनीहरुले प्रस्तुतीको अन्त्यमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठप्रती श्रद्धाञ्जली अर्पण गर्दै उनको गीतमा नृत्य गरेका थिए ।

all-1

यस्तै नायक यशराजले दुई सुन्दरी नम्रता सापकोटा र पवित्रा आचार्यसँग ‘मेरो लाहुरे आउछ रे’ र ‘मात लाग्यो’ बोलको गीतमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिलाए । कार्यक्रमको मध्यान्तरमा संयम पुरीसंगै कार्यक्रम संचालन गर्न आएका विल्सन विक्रम राई ‘तक्मे बुढा’ ले पनि दर्शकलाई पेट मिचीमिची हँसाउन बाध्य बनाए ।

नरेन्द्र वीर सिंहको टिमको नृत्य आकर्षक थियो । कलाकार रोहित रुम्बाले कलाकारद्धय अनु शाह र अशिष्मा नकर्मीसँग ‘गाला रातै’ र ‘ढिच्याउँ’ बोलको गीतमा आकर्षक प्रस्तुती दिएका थिए । त्यस्तै सदावहार नायिका करिश्मा मानन्धर र नायक रमेश उप्रेतीले अन्तिम प्रस्तुती स्वरुप स्टेजमा आकर्षक नृत्य गरेका थिए ।

कसले कुन विधामा अवार्ड जिते ?
१.प्रदिप सर्वोत्कृष्ट ध्वनी पूनः मुद्रण : अमित श्रेष्ठ (मञ्जरी)
२.भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी (नोथिङ इम्पोसिबल)
३.मञ्जु सर्वोत्कृष्ट छायांकार: पुरुषोत्तम प्रधान (नाई नभन्नु ल २)
४.तुलसी सर्वोत्कृष्ट सम्पादन : बद्री लामिछाने (महशुश)
५.शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
६.बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशन : कविराज गहतराज (स्लोली स्लोली, काली)
७.उदित सर्वोत्कृष्ट पार्श्र्व गायन : प्रेम परियार (यी आँखामा, नाई नभन्नु ल २)
८.शम्भुजित सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा (यी आँखामा, नाई नभन्नु ल २)
९.चैत्य नव नायिका : सुजाता कोइराला (मञ्जरी)
१०.विश्व सर्वोत्कृष्ट नव नायक : गौरब पहारी (मञ्जरी)
११.बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : लक्ष्मी गिरी (झोला)
१२. निर सर्वोत्कृष्ट सह अभिनेता : रमेश वुढाथोकी (राजनीति)
१३.पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार : शान्तिप्रिय
१४.कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायीक चलचित्र : नाई नभन्नु ल २
१५.मह जुरी सर्वोत्कृष्ट चलचित्र : प्रविण श्रेष्ठ र सुनिल मानन्धर (मोक्ष)
१६.चेतन सर्वोत्कृष्ट लेखन : अर्पण थापा (मौन)
१७. भूवन सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त (झोला)
१८.शिव सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
१९.हिरा सर्वोत्कृष्ट चलचित्र : झोला (मिडिया फर कल्चर प्राली र झोला इन्टरनेशनल)
२०.प्रकाश सर्वोत्कृष्ट निर्देशक : यादव भट्टराई (झोला)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu