ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हिन्दुवादी भन्दै दशै गीत नगाएको समाचार बाहिरिएपछि चर्को आलोचना खेपेकी गायिका अञ्जु पन्तले सबैसँग माफी मागेकी छिन् ।
आफुबाट जान-अञ्जानमा केही भुल भएको भए माफी दिनहुन उनले आफ्ना संगीतप्रेमी दर्शक, श्रोता र सम्पुर्ण धर्मावलम्बीहरुलाई आग्रह गरेकी छिन् । एक हस्तलिखित भनाई सार्वजनिक गर्दै अञ्जुले आफुले अहिलेसम्म कुनै धर्मलाई होच्याउने र घृणा गर्ने काम नगरेको र कहिल्यै नगर्ने बताएकी छिन् ।
आफ्नो विषयमा आएको समाचारप्रती निकै दुखी रहेको बताउँदै उनले आउँदै गरेका सबै धर्मालम्बीका सबै चाडहरुको शुभकामना समेत दिएकी छिन् ।
अञ्जुले गीतकार सहदेव कोइरालाको शब्दलाई ‘हिन्दुवादी’ भन्दै गीत गाउन अस्वीकार गरेको समाचार बाहिरिएको थियो ।
गीतका शब्द यस्ता थिएः
सुख र शान्ती जिवनमा ओठमा हासो छाओस्
दुर्गा माताको आर्शिवादले सोचेजस्तै पुग्दै जाओस्
पुकार्दै मनले नवदुर्गालाई गर्दै कामना
यो दशैको सबैसबैलाई छ शुभकामना
यता अञ्जु पन्तले हिन्दवादी गीत भन्दै गाउन अस्वीकार गरेकोमा शिवशेना नेपालले घोर भ्रत्सना गरेको छ । ‘८५ प्रतिशत हिन्दु र ९५ प्रतिशत ॐकार भएको देशमा यस्तो अपहेलित शब्द प्रयोग गर्नु भनेको नेपाली कलालाई मात्र नभएर नेपाल राष्ट्रको नै अपमान भएको छ’, अध्यक्ष अनिल बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा अञ्जु पन्तजस्ता अतिवादी धार्मिक व्यक्तीलाई कला जस्तो पवित्र क्षेत्रमा रहिरहने अधिकार नभएको भन्दै विरोध गरेको छ ।