ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजधानीमा आज तीज म्यूजिक अवार्ड –२०७१ सम्पन्न भएको छ । तीजका गीत–संगीत र श्रष्टाहरुलाई प्रोत्साहन मिलोस् भनेर नेपालमै पहिलोपटक बजाज इन्टरटेन्मेन्टले यो अवार्डको आयोजना गरेको हो ।
कार्यक्रममा १४ विधामा अवार्ड वितरण गरिएको थियो । जसमध्ये उत्कृष्ट तीज गीतको अवार्ड ‘तिजको आयो लहर’ बोलको गीत गाएकी गायिका सुनिता दुलालले पाएकी छिन् । ‘म त फुरुक्कै’ बोलको गीत गाएकी चर्चित गायिका देविका बन्दनाले भने उत्कृष्ट तीज गीत गायिकाको अवार्ड पाइन् । त्यस्तै हरि विष्टलको ‘सम्झना माइतीको’ बोलको एल्वमले उत्कृष्ट तीज एल्बमको अवार्ड जितेको छ । विष्टले नै उत्कृष्ट तीज गीत भाका (लय) को अवार्ड पनि जिते ।
यसैगरी उत्कृष्ट तीज गीत शब्दमा गायत्री थापा, उत्कृष्ट तीज दोहोरी गीत गायिकामा पुर्णकला वि.सी र उमा श्रेष्ठ, उत्कृष्ट तीज दोहोरी गीत गायकमा खुमन अधिकारी, उत्कृष्ट तीज गीत भिडियो निर्देशकमा शंकर वि.सी र उत्कृष्ट तीज गीत भिडियो मोडल (महिला) मा दिपाशा वि.सी. विजयी भएका थिए ।
कार्यक्रममा उत्कृष्ट तीज गीत भिडियो सम्पादन, उत्कृष्ट तीज गीत भिडियो छाँयाकार, उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष) र उत्कृष्ट तीज गीत पब्लिक च्वाइज अवार्ड पनि बाँडिएको थियो ।
कार्यक्रममा सहभागी सदावहार नायिका करिष्मा मानन्धर, हास्य कलाकार दिपाश्री निरौला, कुञ्जना घिमिरे (सुन्तली) लगायतले पनि तीजको गीतमा खुलेर नाँचेका थिए । दिपकराज गिरी, निर्मल शर्मा, दिनेश डि.सी. लगायतको पनि कार्यक्रममा सहभागिता थियो ।
‘हाम्रो कार्यक्रमले तीजको परम्परालाई कायम राख्न र यसका श्रष्टा–सर्जकहरुलाई प्रोत्साहन पक्कै पनि मिलेको छ’, कार्यक्रमका संयोजक बी.एस. लामिछानेले बताए ।