आठ बर्षिया सौगात बिष्टले निर्देशन गर्ने चलचित्र घोषणा



Saugat

अनिल यादव, काठमाण्डौ ।
नेपाली चलचित्रहरु चलाउन हम्मेहम्मे परिरहेको अवस्थामा ८ वर्षका एक बालकले चलचित्र निर्देशन गर्ने भएका छन् । पत्याउन गाह्रो पर्ला तर बुधवार राजधानीमा आयोजित एक कार्यक्रम माझ ८ वर्षिया कलाकार सौगात विष्टले ‘लभ यू बावा’ नाम गरेको चलचित्र निर्देशन गर्ने घोषणा भएको छ ।

सौगात नायक गजित विष्टका एक मात्र छोरा हुन् । ‘मैले बाबालाई म पनि चलचित्र निर्देशन गर्छु, क्यामेरा र निर्देशनको विषयमा केही सिकेको छु भनेर प्रस्ताव राखे’ , सौगातले भने– ‘शुरुशुरुमा हास्नुभयो तर पछि विश्वास गर्नुभयो, म त्यो विश्वासलाई पुरा गरेर देखाउँछु ।’

विश्वमै ९ वर्षभन्दा मुनीको बालकले चलचित्र निर्देशन गरेको इतिहास नभएको बताइएको छ । ‘त्यसैले चलचित्र निर्देशनसंगै सौगातको कार्यलाई गिनिज बुक अफ दि वल्र्डमा लेखाउने प्रक्रिया पनि बढाइरहेका छौ’, सौगातको बाबु गजितले कार्यक्रममा सुनाए ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले चलचित्र गिनिज बुकमा रेकर्ड लेखाउनका लागी मात्र नभएर दर्शकको मनजित्ने खालको बनाउनुपर्ने भन्दै शुमकामना दिएका थिए । उनले चलचित्र राम्रो बन्यो भने विश्वभरी प्रदर्शन गराउन ‘सभटाइटल’ गर्नका लागी दुईलाख सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

आमाको काखविहिन एउटी सानी १० वर्षिया छोरीलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्षको एउटा पारिवारिक कथालाई चलचित्र ‘लभ यू बाबा’ ले समेट्ने बताइएको छ । ‘एउटा बाबा जसलाई आफ्नो सन्तानप्रतिको उत्तरदायित्व बोध गराउने कथा हो ‘लभ यू बाबा’ ‘, चलचित्रका लेखक गजित विष्टले जानकारी दिए ।

सम्झना पोखेरेलको निर्माण र रोशनि बज्राचार्यको सहनिर्माणमा बन्ने यस चलचित्रमा बाल कलाकार संगम विष्ट, गजित विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा लगायतको अभिनय रहने जानकारी दिइयो । अनु शाह र संचारकर्मी तथा निर्देशक सुब्रत आचार्य पनि चलचित्रमा अतिथि कलाकारका रुपमा देखिने छन् ।

saugat1

गोविन्द सिंह भण्डारीको मुख्य सहायक निर्देशन र सुमन चापागाईको सहायक निर्देशन रहने चलचित्रको कास्टिङ डाइरेक्टर चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय रहेका छन् । दिव्यराज सुवेदीको छायांकन, गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्धन्द्ध रहने चलचित्रको सम्पादन प्रितम पाण्डेले गर्नेछन् ।

चर्चित गायक–गायिकाहरु राजेश पायल राई, रजिना रीमाल, स्वरुपराज आचार्य, कृष्ण काफ्ले र आयुश्ना नकर्मीको स्वर रहने उक्त चलचित्रका गीतहरुमा स्वरुप, डेनी निरौला, दीपक शर्मा र प्रदीप बास्तोलाले संगित दिनेछन् ।

डान्स फिवरले प्रस्तुत गर्न लागेको चलचित्र ‘लभ यू बाबा’ विश्वमै उदाहरणीय बन्दैछ किनभने ८ वर्षिया बालकले चलचित्र निर्देशन गर्न लागेको विश्वमै पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu