राजेश खन्नाको अफिस सहायक हुँदै वलीउडमा छिरेँः चन्द्र पाठक



chandra-1

हाल भारतिय अर्थतन्त्रको बलियो आधार वलीउडमा धेरै नेपाली आवद्द छन् । झट्ट हेर्दा अगाडी नदेखिएपनि पृष्ठभूमिका नेपालीले वलीउडलाई धेरै नै सघाएका छन् । सम्मानित तवरले उच्च पदमा रहेर नेपालीले आफ्नो कला र पौरख देखाईरहेका छन् । केहि अगाडी देखिन्छन् भने केहि नदेखिएरै वलीउडको मेरुदण्ड बनिरहेका छन् । पछिल्लो समय प्रियांका चोपडाको बक्सिङ् गुरु अभिनय गरेर एकाएक चर्चामा आएका छन् नेपालका प्रसिद्द कलाकार सुनिल थापा । त्यस्तै नागरिक भारतिय भएता पनि नेपाली मुलका विनोद प्रधान वलीउडका मंहगा क्यामेराम्यान हुन् ।

यहाँ हामीले पृष्ठभूमिबाट वलीउडको सानोपर्दामा हलचल मच्चाईरहेका एक त्यस्ता नेपालीको चर्चा गर्दैछौँ जसले एक चर्चित वलीउड टिभी च्यानलको चिनारी दिने सिरियलको मेरुदण्ड बनेर आफ्नो कौशल देखाईरहेका छन् । वलीउडको हिट फिल्म ‘जब वि मेट’मा सहायक प्रडक्शन कन्ट्रोलर बनेका चन्द्र पाठक त्यसपछि दुई हिट फिल्म ‘गोलमाल रिटर्न्स’ र ‘लक’मा प्रडक्शन कन्ट्रोलर बनेपछि सिरियलतिर लागेका थिए । चन्द्र हाल ‘सोनी सब’ च्यानलबाट प्रशारण भईरहेको ‘चिडियाघर’का प्रमुख प्रडक्शन कन्ट्रोलरको रुपमा कार्यरत छन् । उनले केहि अवार्ड समेत हात पारेका छन् (1. Jab We Met, Production Team, 2008, 2. Chidiya Ghar, Best production executives award, 2012, 3. Gili Gili Gappa, 2014, 4. In Productions Award for (Garima Prud) Chidiya Ghar Best head of Production, 2014) । केहि हिन्दी तथा नेपाली म्यूजिक एल्बमहरु समेत बजारमा ल्याएका चन्द्र पाठकसँग ठुलोपर्दा डटकमका जिवन पराजुलीले गरेको कुराकानीको संपादित अंशः

१. वलिउडमा नेपालबाट गएर प्रमूख भूमिका निभाउनुभाको छ, चर्चित च्यानलको चर्चित सिरियलमा । नेपालीलाई भारतियले गर्ने ब्यवहार कस्तो छ ?
१९९६ बाट बीचमा पाँच बर्ष बाहेक अरु सबै समय म वलिउड मा नै छु । अहिलेसम्म मैले त्यस्तो केहि महशुस गरेको छैन । उल्टै हामीले राज नै गरेका छौँ । हामीले त्यस्तो हुन पनि दिदैनौँ र अहिलेसम्म भएको पनि छैन ।

२. तपाई चिडियाघरको प्रडक्शन हेड हुनुहुन्छ, यो पदमा आईपुग्न कति बर्ष संघर्ष गर्नुभयो ?
करिव आठ बर्ष लाग्यो । त्यतिबेला कुनै पृष्ठभुमि र चिनजान पनि थिएन । छ महिना जती सहायक भएर काम गरेको थिएँ । कलाकारितामा पनि केहि रुचि भएकोले त्यतै पनि भुलियो सुरु-सुरुमा । जब केहि बन्न सकिएन तब आफु हिडेको बाटो आफैले देख्न थालेँ । पछि प्रोडक्शन तिर लागियो, जुन राम्रो भयो । चलचित्र ‘जब वि मेट’मा सहायक प्रडक्शन कन्ट्रोलर भएर काम गरेँ । त्यस्तै, ‘गोलमाल रिटर्न्स’मा आएर प्रडक्शन कन्ट्रोलर नै भएँ । त्यसैगरी चलचित्र ‘लक’मा पनि प्रडक्शन कन्ट्रोलर भएँ । त्यसपछि टिभी सिरियल तिर लागेँ ।

३. वलीउड प्रवेश गर्दा सुरुमा कुन क्षेत्रमा काम गर्नुभयो ?
सुरुमा सुपरस्टार राजेश खन्नाको अफिसमा सहायकको रुपमा काम गरेँ । केहि सिक्ने चाहनाले राजेश खन्नाको अफिसमा काम गर्न पुगेको थिएँ । त्यहिँ काम गर्ने ४-५ जना साथीहरु मिलेर केहि घुम्ती नाटकहरु प्रस्तुत गर्यौँ । खन्नाकोमा काम गर्दा चिनजानको आधारमा भिडियो सम्पादनमा लागेँ । सोही कारण आज यहाँसम्म आईपुगेँ ।

chandra2

४. चिडियाघरमा अभिनय पनि गर्नुहुन्छ ?
बेला-बेलामा अभिनय पनि गररिरहेको हुन्छु । मैले सक्ने पात्र आवश्यक परेको खण्डमा मैले अभिनय पनि गर्ने गरेको छु ।

५. चिडियाघर भित्र कसरी पुग्नुभो ?
काम गर्दै जाँदा फड्को मारेको भन्छु म यहाँ आउनुलाई । मैले गरेका चलचित्रको कामबाट पाएको सफलता र प्रतिक्रियाले मलाई यहाँ ल्याएको हो ।

६. वलीउडमा नेपाली श्रमीकको अवस्था के ‍छ र कति नेपाली आवद्द छन् ?
म जब नेपालबाट भारत गएको थिए, त्यहाँ अहिले जस्तो थिएन । फिल्म प्रडक्शन कम्पनीमा कोही चियापानी दिने कोहिले के गर्ने कोहिले के गर्ने आदि-ईत्यादि थियो । अहिले तिनै साथीहरु वलीउडका अभिन्न अंग बनिसकेका छन् । तल्लो स्तरको काममा कोहि पनि नेपाली छैनन् । सयमा २-४ जना होलान तर प्रायःले धेरै फड्को मारिसकेका छन् । कोहि सह-निर्देशक छन्, कोहि क्यामेराम्यान छन्, कोहि एडिटर, कोहि साउण्ड रेकर्डिष्ट छन् । यतिनै नेपाली छन् भन्ने तथ्यांक त थाहा हुने कुरा भएन तर मेरै सर्कलमा भने ५०-६० जना छन् । बाँकी कति होलान आँफै अनुमान गर्नुस् ।

७. प्राविधिक पाटोमा त नेपालीहरु अगाडी छन् तर, कलाकारितामा किन पछाडी परे होलान ?
गायन तर्फ कुरा गर्दा त्यहाँ शब्द उच्चारणमा नेपालीको टोन मिल्दैन भन्ने चलन छ । तर कलालाई कहिँको भन्दैनन् । मेरो मतलब नेपाली भएकै कारण क्षमता भएकोले काम गर्न नपाउने भन्ने चाहिँ छैन । पहिले जस्तो छैन आजभोली । आजकल क्षमता हेर्ने चलन छ । प्रतिभावान व्यक्तिले अवसर पाउँछन् ।

८. आउने दिनमा तपाई नेपाल आउने की वलीउडमा नै रहने ?
म मुम्बई बसेर काम गरिरहँदा पनि नेपालमा बसेर केहि गर्छु भन्ने उद्देश्य लिएर पहिले आईसकेको थिएँ । नेपालको बजार साह्रै सानो र लगानी समेत उठाउन गाह्रो रहेछ । म पाँच बर्ष नेपाल बसेँ । आफ्नै देशमा केहि गर्छु भने तर सकिएन । फेरी मुम्बई फर्किएँ । अहिले यतै राम्रो भईरहेको छ । भबिष्यको कुरा अहिले नै थाहा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu