चलचित्र ‘जार’ को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक



काठमाडौं – नेपाली चलचित्र ‘जार’ को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक भएको छ । निर्माण पक्षले युट्युबमार्फत बिहीबार सार्वजनिक गरेको यो लोक शैलीको गीतमा झुमा लिम्बू र पवन गिरीको आवाज रहेको छ भने हर्क साउदका शब्दहरू छन् । सङ्गीत स्वयं झुमा लिम्बूले दिएकी छन् । गीतले प्रेममा रहेका दुई युवायुवतीको भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । एकतर्फ लाहुरमा गएको प्रेमीको सम्झनामा तड्पिरहेकी प्रेमिकाको चित्रण छ भने अर्कोतर्फ गाउँमा रहेकी प्रियसीको यादमा डुबेको प्रेमीको मनको भावलाई गीतले उजागर गर्दछ । यसले चलचित्रको कथा लाहुरेको जीवन र प्रेम वरिपरि घुम्ने सङ्केत दिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गीताञ्जली थापालाई देख्न सकिन्छ । भिडियोले ग्रामीण भेगको सुन्दर परिवेश र जनजीवनलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

निर्देशक फूर्वा छिरिङ लामाले ‘जार’ सन् १८०० को दशकमा नेपालमा घटेको सत्य घटनामा आधारित रहेको बताएका छन् । यो चलचित्र प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथाबाट प्रेरित छ । निर्देशक लामाका अनुसार, इन्द्रबहादुर राईले २२५ वर्ष पुरानो कथालाई आफ्नो साहित्यमा उतारेका थिए र सोही विषयलाई ‘जार’ मा प्रस्तुत गरिएको छ ।

फेरि टेल पिक्चर्सको प्रस्तुति रहेको ‘जार’ सामाजिक विषयवस्तुमा आधारित भए पनि दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेज हुने निर्देशक लामाको दाबी छ । उनी ‘जारी’ जस्तै यो चलचित्रले पनि दर्शकको मन जित्नेमा विश्वस्त छन् ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको महत्त्वपूर्ण भूमिका रहेको छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो ।

‘जार’ का कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् । सरवानन इलावार्सुले छायाङ्कन गरेको यस चलचित्रको सम्पादन अखिलेश राईले गरेका छन् भने सङ्गीत झुमा लिम्बू र गङ्गा थापाको रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu