
काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले बिहीबार चलचित्रको पहिलो झलक (फर्स्ट लुक) सार्वजनिक गर्दै आगामी भदौ १२ गतेबाट यो सिनेमा देशभरका हलमा रिलिज हुने जानकारी दिएको हो ।
सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । उनी परम्परागत पहिरनमा सजिएकी छिन् र पछाडि फर्किएर हेरिरहेको देखिन्छ । उनको यो रूपले उनी भर्खरै विवाह गरेर गाउँ फर्किएकी युवतीको जस्तो आभास दिन्छ ।
पोस्टरमा देखाइएको दृश्य एउटा पहाडी गाउँको घरको आँगन हो । आँगनमा उम्रिएको झारपातले घर केही समयअघि मात्रै छोडिएको अनुमान गर्न सकिन्छ, तर धेरै लामो समय भने भएको देखिँदैन । घरको बनावट हेर्दा त्यो गाउँकै सम्पन्न परिवारको जस्तो देखिन्छ । यसले सायद सुरक्षा पन्तको चरित्र सहरबाट गाउँमा फर्केर नयाँ जीवन सुरु गर्न खोजेको हुनसक्ने संकेत गर्छ ।
‘कोशेढुङ्गा’ मा सुरक्षा पन्तसँगै आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईँ, सिरु विष्ट, उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल र विकास खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल चलचित्र निर्देशन गरिसकेका सरोज पौडेलले ‘कोशेढुङ्गा’ निर्देशन गरेका हुन् ।