काठमाडौंमा ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न, हरिवंश आचार्यको फरक अवतारको प्रशंसा



काठमाडौं – अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर मङ्गलवार काठमाडौंको क्यूएफएक्स सिभिल मलमा सम्पन्न भएको छ । विनोद पौडेलद्वारा निर्देशित उक्त चलचित्रको प्रिमियरमा राजनीतिक, सामाजिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रिमियरमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गायिका आनी छोइङ डोल्मा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, क्रिकेट कप्तान रोहितकुमार पौडेल, क्रिकेटर सोमपाल कामीलगायत विशिष्ट अतिथिहरूले फिल्मको कथा, अभिनय र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरे ।

उनीहरूले चलचित्रले भुटानी शरणार्थीहरूको पीडा, देश प्रेम र पहिचान गुमाउनुको कथा प्रभावशाली ढङ्गले उठाएको भन्दै नेपाली चलचित्रको स्तर उकास्ने खालको उत्कृष्ट प्रयास भएको टिप्पणी गरे । कलाकार हरिवंश आचार्यको फरक र गम्भीर भूमिकाले सबैलाई प्रभावित बनाएको उनीहरूको भनाइ थियो ।

‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षकमा अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरिने ‘भूठान’को सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको हो । हलिउडका प्रख्यात अभिनेता ब्रुस डर्नको विशेष भूमिका रहेको यस चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेनलगायत कलाकारको अभिनय छ ।

‘बुलबुल’बाट ख्याति कमाएका पौडेलको निर्देशनमा बनेको भएको ‘भूठान’ वैशाख १२ गते देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्र ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अवेकन प्रोडक्सन नेपाल र म्याड मंकी फिल्म्स अमेरिकाको संयुक्त निर्माणमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu