
काठमाडौं – नेपाली चलचित्र ‘कार्की साइँला’ को निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । सोमबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानमा आयोजित एक विशेष समारोहमा स्क्रिप्ट पूजा गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
मुहूर्तमा मुख्य कलाकारहरू जितु नेपाल र वर्षा सिवाकोटीले पहिलो दृश्यमा अभिनय गरेर कार्य शुभारम्भ गरेका थिए । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक्सन कट भने निर्माता सुशील पोखरेलले क्ल्याप हाने । क्यामेराको स्विच अन डम्बर बहादुर राईले गरेका थिए भने निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फुटाएर विधिवत् रूपमा क्यामेराको पूजा गरेका थिए ।
कर्ण बहादुर फिल्मस् प्रा.लि.को प्रस्तुति रहने यो चलचित्रलाई राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन् । कृष्ण भगत चाम्लिङ प्रस्तुत कर्ता रहेको यस चलचित्रको निर्माण बालकुमार राईले गर्दैछन् । अजित लामिछानेले पटकथा र संवाद लेखेका छन् ।
‘कार्की साइँला’ मा जितु नेपाल र वर्षा सिवाकोटीका साथै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर र मनिल तामाङ जस्ता कलाकारहरूको पनि अभिनय रहनेछ ।