
काठमाडौं – हरितारा चलचित्र पुरस्कार २०८०/०८१ वरिष्ठ चलचित्रकर्मी, अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले यो निर्णय गरेको हो ।
वि.सं. २०५२ सालमा समाजसेवी विजया राणा (तारानानी) ले स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो । चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकाले अभिनेता टिका पहारीलाई २०८० सालको पुरस्कार अर्पण गरिने भएको छ । त्यस्तै, दुई दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र उद्योगमा अभिनयमार्फत योगदान दिँदै आएकी अभिनेत्री रेजिना उप्रेतीलाई २०८१ सालको हरितारा चलचित्र पुरस्कार प्रदान गरिनेछ । दुवै व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँ नगद र लिखतसहित पुरस्कृत गरिनेछ ।
यसअघि यो पुरस्कार वसुन्धरा भुसाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रवीन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय सङ्ग्रौला, रेखा थापा, दिनेश डि.सी., शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी र दीपाश्री निरौला लगायतलाई प्रदान गरिएको थियो ।
यसै वर्षदेखि हरितारा चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिने भएको छ । १० हजार रुपैयाँ राशिको यो पुरस्कारको पहिलो संस्करण सञ्चारकर्मी विष्णु सुवेदीलाई अर्पण गरिने निर्णय बैठकले गरेको छ ।
यसै गरी, परिवर्तन नेपालको वैशाख ५ गते बसेको बैठकले श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार कलाकार तथा अधिवक्ता कागण ढुङ्गाना र निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको छ ।
परिवर्तन नेपालले नेपाली चलचित्रको विकासमा योगदान पुर्याउने अभिनेता रवीन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई परिवर्तन-चलचित्रकर्मी विशेष सम्मान २०८१ बाट सम्मानित गर्ने निर्णय गरेको छ । साथै, सञ्चारकर्मी तुलसी गिरी भावुक, कृष्ण भुसाल र कमला जोशीलाई परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१ अर्पण गरिने भएको छ । यी पुरस्कार तथा सम्मानका लागि मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेको समितिले सिफारिस गरेको थियो ।
पुरस्कार तथा सम्मान वितरण कार्यक्रम २०८२ साल जेठको पहिलो हप्तामा विशेष समारोहका बीच आयोजना गरिने परिवर्तन नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
तस्बिर: सांकेतिक (एआइ द्वारा सिर्जित)