ग्रामीण चलचित्र महोत्सव: जितु र केकी उत्कृष्ट कलाकार, ‘अञ्जिला’ उत्कृष्ट चलचित्र



रसुवा – हालै सम्पन्न भएको ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अभिनेता जितु नेपालले ‘ज्वाइँ साब’ चलचित्रबाट उत्कृष्ट अभिनेताको उपाधि हात पारेका छन् । गोसाईंकुण्ड गाउँपालिकामा वैशाख ४ देखि ६ गतेसम्म चलेको यो महोत्सवमा ‘बोक्सीको घर’मा दमदार अभिनय गरेकी अभिनेत्री केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोषित भइन् । यसै गरी, अभिनेता प्रदीप खड्काले चलचित्र ‘पुजार सार्की’बाट जुरीको विशेष अवार्ड प्राप्त गरे । अन्य विधामा ‘प्याकुली’ले उत्कृष्ट म्युजिकल लघु चलचित्र र रोनिस खड्काले सोही चलचित्रबाट इन्करेजमेन्ट अवार्ड जिते । ‘आप्लेगा नाम्सा’ उत्कृष्ट सांस्कृतिक चलचित्र, ‘म कमरेड’ उत्कृष्ट लघु चलचित्र, ‘माझी’ उत्कृष्ट डकुमेन्ट्री र ‘अञ्जिला’ उत्कृष्ट चलचित्र घोषित भए ।

प्राविधिक विधामा भरत रेग्मीले ‘पुजार सार्की’बाट उत्कृष्ट सम्पादक, शिवराम श्रेष्ठले ‘बोक्सीको घर’बाट उत्कृष्ट छायाङ्कन र मिलन चाम्सले ‘अञ्जीला’बाट उत्कृष्ट निर्देशकको अवार्ड जिते । जुरी मेन्सन अवार्ड ‘द्रौपदी’का ऋषिराज आचार्य र जुरी अवार्ड ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले प्राप्त गरे । ‘बोक्सीको घर’ले उत्कृष्ट भिज्युअल इफेक्टको अवार्ड पनि जित्न सफल भयो, जुन मनोज श्रेष्ठलाई प्रदान गरियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेताहरूलाई अवार्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

तीन दिनसम्म चलेको महोत्सवमा २२ वटा साना तथा ठुला चलचित्रहरू प्रदर्शन गरिएका थिए । कार्यक्रममा दर्जनौँ चलचित्रकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो । महोत्सवको समापनको अवसरमा ३० औँ वन्यजन्तु सप्ताह, चौथो गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ र १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

महोत्सवको उद्घाटन नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्रदर्शन गर्दै भएको थियो । पहिलो दिन ‘अञ्जिला’सँगै ‘पुजार सार्की’ र ‘बोक्सीको घर’ पनि देखाइएको थियो ।

समापन कार्यक्रममा रेडियो रसुवाका पत्रकार दीपक लामालाई ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ चलचित्रका निर्माता नवीन श्रेष्ठलाई सम्मान गरिएको थियो । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने नाराका साथ सेलीब्रेटी नेपालले नियमित रूपमा यो महोत्सव आयोजना गर्दै आएको छ । विगत चार वर्षदेखि नियमित आयोजना हुँदै आएको यो महोत्सव आगामी वर्षहरूमा पनि निरन्तर हुने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu