
काठमाडौं – दिवाकर भट्टराईको एक्सन ड्रामा ‘नरसिंहा अवतार’ यति बेला रिलिजको तयारीमा छ । जेठ ९ गते रिलिज हुने यस चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रमेश चन्द सोडारी यस प्रोजेक्टलाई आफ्नो करियरकै महत्त्वपूर्ण खुड्किलोको रूपमा हेरेका छन् । बलियो शारीरिक बनावट र एक्सनमा दक्खल भएका कलाकारको खोजीमा रहेका निर्देशक भट्टराईले रमेशलाई भेटेपछि आफ्नो मुख्य पात्र पाएका थिए ।
रमेशले चलचित्रमा जोडिने अवसर कसरी पाए भन्ने बारेमा बताउँदै भने, “निर्देशक एक्सन गर्न सक्ने कलाकार खोज्दै हुनुहुँदो रहेछ । कोरियोग्राफर माइकल चन्दले मेरा तस्बिरहरू देखाउनुभएछ । तस्बिर हेरेपछि निर्देशक सरले मलाई भेट्न बोलाउनुभयो र फिल्मको कथा सुनाउनुभयो ।”
लामो समयदेखिको मिक्स मार्सल आर्टको अभ्यास र जिमले बनाएको आकर्षक शरीर रमेशका लागि यो चलचित्रमा छनोट हुन पर्याप्त आधार बन्यो । उनी मिक्स मार्सल आर्टका साथै तेक्वान्दो र सितेरियो कराँतेमा ब्ल्याक बेल्ट हुन् भने जिम्न्यास्टिकमा पनि पोख्त छन् ।
‘नरसिंहा अवतार’मा रमेश सकारात्मक भूमिकामा देखिनेछन् र यो चलचित्रबाट उनी निकै आशावादी छन् । “मैले यो चलचित्रमा धेरै मिहिनेत गरेको छु र मलाई विश्वास छ कि मेरो कामले राम्रो परिणाम दिनेछ,” उनले भने ।
ठुलो पर्दामा यो रमेशको चौथो चलचित्र हो । यसअघि उनले ‘मेहेन्दो’ बाट नेपाली चलचित्र उद्योगमा डेब्यु गर्ने मौका पाएका थिए, तर दुर्भाग्यवश त्यो फिल्म प्रदर्शन हुन सकेन । उनी त्यसलाई आफ्नो ‘टुटेको सपना’ मान्छन् र त्यसलाई बिर्साउन अझ बढी मिहिनेत गरिरहेका छन् । त्यसपछि उनले ‘मन त परदेशी’, बिराज भट्टको ‘साङ्लो’ र ‘वानर सेना’ जस्ता तीन चलचित्रमा काम गरे । यी सबै उनको लागि सिक्ने अवसर थिए, तर ‘नरसिंहा अवतार’लाई उनी आफ्नो करियरको ‘बोर्ड परीक्षा’ ठान्छन् ।
“म यो फिल्मबाट धेरै आशावादी छु । यो ठुलो बजेट, ठुलो ब्यानर र ठुलो क्यानभासको चलचित्र हो । बजारमा पनि यसलाई प्रतीक्षित फिल्मको रूपमा हेरिएको छ । कथा र प्रस्तुति दर्शकहरूको रुचि अनुसार तयार पारिएको छ । मेरा अघिल्ला चलचित्रहरू सिक्ने कक्षा थिए भने ‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो र म यसबाट उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त छु । अब दर्शकहरूको हातमा छ।” रमेशले भने ।