
काठमाडौं – नेपाली टेलिभिजनको चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ दर्शकमाझ पुनः आउन लागेको छ । हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ द्वारा प्रस्तुत यो कार्यक्रम आज बिहीबारदेखि बागमती टेलिभिजन एचडी र ओएसआर डिजिटलको प्लेटफर्मबाट प्रसारण हुने भएको छ ।
प्रस्तोता रिजालका अनुसार, कार्यक्रम प्रत्येक बिहीबार बेलुका ८ः३० देखि ९ बजेसम्म बागमती टेलिभिजनमा प्रसारण हुनेछ भने राति ९ बजे ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिनेछ । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरी मनोरञ्जनात्मक शैलीमा संवाद गरिनेछ । रिजाल कार्यक्रममा मधेसको स्थानीय लवजमा प्रस्तुत हुनेछन्, जसले दर्शकलाई थप आकर्षित गर्ने विश्वास लिइएको छ । यो कार्यक्रम मनोरञ्जनले भरिपूर्ण हुनुका साथै समाजका लागि सन्देशमूलक पनि हुने रिजालले बताए ।
बिहीबार प्रसारण हुने कार्यक्रमको पहिलो भागमा फिल्म ‘होस्टेल ३’का अभिनेता तथा सामाजिक सञ्जाल टिकटकमा ‘कुलब्वाय’को रूपमा परिचित पारस बम ठकुरी अतिथिका रूपमा देखिनेछन् । दर्शकहरूले उनको रोचक कुराकानी र जोगिन्दरको हास्य शैलीको संयोजन हेर्न पाउनेछन् । यसपछिको शृङ्खलामा भने नेपाली राजनीतिमा परिचित नाम चन्द्रकान्त राउत अर्थात् सिके राउत अतिथिका रूपमा सहभागी हुनेछन् ।
शिवशङ्कर रिजालले यसअघि पनि ‘जोगिन्दरको पान दुकान’ नामक कार्यक्रम विभिन्न टेलिभिजन च्यानलहरूमा ११ वर्षसम्म सफलतापूर्वक सञ्चालन गरेका थिए । केही समय प्रसारण रोकिएको यो लोकप्रिय कार्यक्रम अब नयाँ स्वरूप र थप रोचक सामग्रीका साथ बागमती टेलिभिजन एचडीबाट नियमित रूपमा प्रसारण हुन लागेको हो ।