चलचित्र ‘लाज शरणम्’: देशभरका १३ हलमा ५१ औँ दिनको उत्सव



काठमाडौं – शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लाज शरणम्’ले बिहीबार प्रदर्शनको ५१ औँ दिन पार गरेको छ । उच्च शो सङ्ख्याका साथ प्रदर्शन थालेको ‘लाज शरणम्’ले प्रदर्शनको सातौँ हप्तामा पनि दर्शकहरूको उल्लेख्य उपस्थिति जनाइरहेको छ ।

निर्माता नवीन श्रेष्ठका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न प्रतिष्ठित १३ वटा हलहरू क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, र सिडिसी सिनेमा लगायत मोफसलका झापाको बिर्तामोडस्थित क्युएफएक्स, दमकको डिम्याक्स सिनेमाज र बुटवलको आइएनआई सिनेमाजमा सफलतापूर्वक ५१ दिन पूरा गरेको हो ।

चलचित्रको सफलताप्रति खुसी व्यक्त गर्दै निर्माता नवीन श्रेष्ठले भने, “हाम्रो चलचित्र ‘लाज शरणम्’ ले ५१ औँ दिनमा प्रवेश गरेको छ र दर्शकहरूबाट प्राप्त भएको उत्कृष्ट प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ । अहिले पनि हलहरूमा दर्शकहरूको उच्च उपस्थिति रहेको छ ।”

निर्माण पक्षका अनुसार, ‘लाज शरणम्’ले हालसम्म यसले ५ करोड रुपैयाँको ग्रस व्यापारको आँकडा पार गरेको छ ।

जेपीटी क्रिएसनको प्रस्तुति रहेको ‘लाज शरणम्’मा सीताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), रेणु योगी, र अर्पण थापा जस्ता लोकप्रिय कलाकारहरूको सशक्त अभिनय रहेको छ। साथै, कमलमणि नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), र रामभजन कामत लगायतका कलाकारहरूले पनि चलचित्रलाई थप जीवन्त बनाएका छन् ।

कर्णालीको मौलिक कथालाई पर्दामा उतारेको यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बरालले छायाङ्कन गरेको यस चलचित्रको सह-निर्माता राम नरेश शाह र सिर्जना खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu