निर्देशक प्रदीप शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोट, ‘एक्लो’ मार्फत विश्व सिनेमामा नेपाल चिनाउने लक्ष्य



काठमाडौं – बेलायती-नेपाली लेखक, निर्देशक र निर्माता प्रदीप शाहीले अन्तर्राष्ट्रिय चलचित्र जगतमा नेपालको उपस्थिति बलियो बनाउने महत्त्वपूर्ण अवसर पाएका छन् । उनी यसै वर्ष फ्रान्समा आयोजना हुने प्रतिष्ठित कान्स प्रोड्युसर्स नेटवर्कका लागि छानिएका हुन् । यो प्लेटफर्म विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभल अन्तर्गतको मार्चे डु फिल्म (Marché du Film) मा समावेश हुन्छ ।

आगामी मे महिनामा हुने कान्स फिल्म मार्केटमा शाहीले आफ्नो नयाँ विज्ञान काल्पनिक (साइ-फाइ) फिल्म ‘एक्लो’ प्रस्तुत गर्ने तयारी गरेका छन् ।

‘एक्लो’ एक डरलाग्दो जम्बी थ्रिलर हो, जसको कथा हिमालयको रहस्यमय आध्यात्मिकता र पौराणिक पृष्ठभूमिमा आधारित छ । हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको यो फिल्मले पूर्वीय दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीलाई संयोजन गरी भविष्यको यस्तो चित्र प्रस्तुत गर्छ, जहाँ मानव सभ्यता विनाशको डिलमा पुगेको छ । ‘एक्लो’ एक महत्त्वाकाङ्क्षी त्रयी (ट्रायोलोजी) को पहिलो भाग हो । यसले अस्तित्वको लडाइँ, प्राचीन मिथकहरू र मानव भाग्यलाई निर्देशित गर्ने अदृश्य शक्तिहरूको कथालाई पर्दामा उतार्ने लक्ष्य राखेको छ ।

कान्स प्रोड्युसर्स नेटवर्कमा सहभागी हुन पाउनु आफ्नो लागि ठुलो सम्मानको कुरा भएको शाहीले बताएका छन् । “यो केवल एउटा चलचित्र देखाउने मात्र नभई नेपाललाई विश्वसामु चिनाउने एउटा प्रयास पनि हो,” उनले भने, “‘एक्लो’ मार्फत हामी नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको चलचित्र निर्माण गर्न सक्छौँ भन्ने सन्देश दिन चाहन्छौँ ।”

निर्देशक शाही यसअघि गोर्खा सैनिकको वीरतामा आधारित पहिलो नेपाली चलचित्र ‘१९१५: लिजेन्ड अफ गोर्खा’ र हिमालयन क्षेत्रको प्राचीन परम्परा ‘स्काई ब्युरियल’मा आधारित ‘अन्तिम संस्कार’ जस्ता प्रशंसित फिल्महरू निर्देशन गरिसकेका छन् ।

‘एक्लो’ मा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंहका साथै बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu