
काठमाडौं – कलात्मक चलचित्र निर्देशन र लेखनमा ख्यातिप्राप्त विनोद पौडेलले निर्देशन गरेको नयाँ चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार सार्वजनिक गरिएको ट्रेलरले मानवीय संवेदना र राजनीतिक सन्दर्भलाई समेटेको छ । पहिलो चलचित्र ‘बुल बुल’बाट सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका पौडेलको यो दोस्रो चलचित्र हो ।
सन् १९८८ मा भुटानको राष्ट्रिय फुटबल खेलाडी रहेका विष्णुबहादुर केसीको जीवन कथामा आधारित यो ट्रेलर ३ मिनेटको यात्रामा दर्शकलाई आत्मपरक र वस्तुपरक रूपमा उनले भोगेका द्वन्द्वहरूमा लैजान्छ । तेस्रो देश पुनर्वासअन्तर्गत अमेरिका पुगेका केसीको मृत्युअघि भुटान फर्कनु पर्ने गहिरो चाहना, सपनामा पत्नीको झल्को, र परिवारमा देखिएको धार्मिक र पुस्तान्तरणको द्वन्द्व मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
हरिवंश आचार्यले निभाएको पात्रको अन्तर्द्वन्द्व र प्रस्तुत भावनात्मक यात्राले ट्रेलरलाई जीवन्त बनाएको छ । अमेरिकन अभिनेता ब्रुस डर्नको उपस्थिति र जलेको घरअगाडि उनीहरू उभिएको अन्तिम दृश्यले गहिरो विम्ब र रूपकको आभास गराउँछ ।
यसको ध्वनि, सम्पादन, रङ संयोजन र निर्देशन सबै पक्षमा बलियो देखिएको ट्रेलरले पुनर्वासको नाममा संस्कार र पहिचानमाथि परेको असरलाई ट्रेलरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
१२ वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा हरिवंश र ब्रुससँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतले अभिनय गरेका छन् । यो चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । चलचित्रका प्रमुख निर्माताहरूमा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन् ।
यो चलचित्र हलिउडको साग अफट्रा अन्तर्गत बनेको पहिलो नेपाली चलचित्र हो । चलचित्रमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । नेपालमा यस चलचित्रको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । विश्वभरका सिनेमा हलमा बलिउड र हलिउडकै वितरकको संलग्नता यस चलचित्रलाई एकै मितिमा प्रदर्शन गर्ने योजना छ ।
ट्रेलर: